आईपीओ ल्याउन लागेको स्टार अस्पतालको आम्दानी ५० प्रतिशत घट्यो, ८५ करोड ऋण लिँदै

  २०८० मंसिर २० गते १७:२२     विकासन्युज

काठमाडौं । सर्वसाधारणका लागि प्रथम सार्वजनिक निष्कासन (आईपीओ ) जारी गर्ने तयारीमा रहेको ललितपुर सानेपास्थित स्टार हस्पिटलको आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अस्पतालको आम्दानी सन् २०२३ मा करिब ५० प्रतिशतले घटेको हो ।

अस्पतालले सन् २०२३ मा ४५ करोड १० लाख रुपैयाँबराबर व्यापार गरेको तथ्यांक सार्वजनिक भएको छ । यो गत वर्षको तुलनामा ३९.४६ प्रतिशतले कम हो । गत वर्ष २०२२ मा अस्पतालले ७४ करोड ५० लाख रुपैयाँबराबर व्यापार गरेको थियो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार स्टार हस्पिटलले २०२१ मा ९० करोड ३० लाख, २०२० मा २३ करोड ६० लाख र २०१९ मा १८ करोड २० लाखबराबर व्यापार गरेको थियो ।

अस्पतालले ८५ करोड ७० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । त्यसमध्ये दीर्घकालीन ऋण ८२ करोड ७० लाख छ जसले ‘इक्रा एनपी एलडी’ तथा अल्पकालीन ऋण ३ करोड छ जसले ‘एनपी डी’ रेटिङ पाएको छ ।

इक्राले स्टार हस्पिटलको ऋण रेटिङ इक्रा एनपी ए४ बाट घटाएर एनपी डी दिएको छ । स्टार २००७ मार्चमा स्थापना भएको अस्पताल हो । यसमा १ सय शैया छन् ।

कोरोनाकालमा भने स्टारले वृहत परिमाणमा व्यापार गर्न सफल भएको थियो । तर, पछिल्लोपटक अस्पतालको व्यवस्थापनमा पनि समस्या देखिएको छ ।

स्टार हस्पिटलमा ३ हजार ७ सयभन्दा धेरै संस्थापक लगानीकर्ता छन् । यसको चुक्ता पुँजी ६९ करोड रुपैयाँबराबर छ । पछिल्लोपटक स्टारले २५ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो ।  अस्पतालले  थप चुक्ता पुँजी जुटाउन आईपीओ जारी गर्ने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.