निजी अस्पतालको व्यापार घट्दा जोखिममा लगानी, सेयर बिक्रीको योजनामा लगानीकर्ता

<p>काठमाडौं । तपाईंले कसैलाई सोध्नुभयो, के छ खबर भन्दा उसको जवाफ कस्तो आउँछ? एकदम ठिक छ भन्ने जवाफ सायदै पाइँदैन । प्रायः सबैको जवाफ आउँछ ठिकै छ , चलिरहेको छ, यस्तै त हो नि, यस्तै यस्तै । अझै व्यापार व्यवसाय गरिरहेकाहरूलाई सोध्ने हो भने, जवाफ झन निराशाजनक पाइन्छ । नुन किन्न किराना पसल जाँदा होस् या [&hellip;]</p>

काठमाडौं । तपाईंले कसैलाई सोध्नुभयो, के छ खबर भन्दा उसको जवाफ कस्तो आउँछ? एकदम ठिक छ भन्ने जवाफ सायदै पाइँदैन । प्रायः सबैको जवाफ आउँछ ठिकै छ , चलिरहेको छ, यस्तै त हो नि, यस्तै यस्तै । अझै व्यापार व्यवसाय गरिरहेकाहरूलाई सोध्ने हो भने, जवाफ झन निराशाजनक पाइन्छ । नुन किन्न किराना पसल जाँदा होस् या सुन किन्न सुनचाँदी पसलमा । वा अन्य कुनै व्यापार व्यवसाय अहिले जता पनि निराशा छ । व्यवसायीहरू व्यापार हुन छोड्यो भन्दै धमाधम सटर बन्द गर्न थालेका छन् भने उद्योगधन्दाको अवस्था पनि उस्तै छ । ठ्याक्कै यस्तै असर स्वास्थ्य क्षेत्रमा पनि परेको छ ।

कोरोना महामारी नफैलदासम्म नेपालमा पनि अवस्था ठिकठाक थियो । उद्योगधन्दाहरू फस्टाएका थिए । व्यापार व्यवसाय पनि राम्रै चलिरहेको थियो । तर, जब विश्वभर महामारीको रुपमा कोरना फैलियो त्यसको असर नेपालमा मात्र हैन विश्वमै प¥यो । अझ बढी असर त नेपाल जस्ता विकसिल मुलुकमा प¥यो । कोरोनासँगै विश्वमा भइरहेका द्धन्द्धले झन अवस्था खराब बनायो । रुस–युक्रेन युद्ध, पछिल्लो समय चलिरहेको इजरायल–हमास युद्ध यस्ता घटनाले पनि नेपालको अर्थतन्त्रमा असर परिरहेको विज्ञहरूको भनाइ छ ।

यस्तो आर्थिक सुस्तताको असर नेपालको स्वास्थ्य क्षेत्रमा पनि परेको छ । सबैभन्दा बढी मारमा निजी क्षेत्रका अस्पतालहरू परेको लगानीकर्ताहरूकै भनाइ छ । आजभोलि निजी अस्पतालमा बिरामीको संख्या समेत घट्न थालेको छ । पहिले दैनिक सयौँको भीड हुने ओपीडी सेवामा अहिले संख्या घट्न थालेको चिकित्सकहरू बताउँछन् ।

आजभन्दा दुई वर्षअघि करिब एक अर्ब रूपैयाँसम्म आम्दानी गर्ने ललितपुरको स्टार अस्पताल अहिले ४५ करोडमा सीमित भएको छ । सो अस्पतालले सन् २०२१ मा ९० करोड ३० लाख, सन् २०२२ मा ७४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, अहिले यो अस्पतालको आम्दानी घटेर सन् २०२३ मा ४५ करोड १० लाख रुपैयाँ कायम भयो । यो दुई वर्षमा सो अस्पतालको आम्दानी ४९.७२ प्रतिशत घटेको छ । स्टारजस्तै अहिले अधिकांश अस्पतालहरूको आम्दानी घटेको छ ।

काठमाडौँको नर्भिक अस्पतालका सिईओ अजय मिश्र आर्थिक सुस्तताको असर अस्पतालमा परेको स्वीकार्छन् । ‘अहिले प्रिभेन्टीभ ट्रिट्मेन्ट अथवा केही रोग नलागेको भएपनि केही समस्या छ कि भनेर चेकजाँच गराउन आउनेको संख्या घटेको छ, बिरामी घट्दा अस्पतालको आम्दानी पनि घट्यो,’ उनले भने । उनका अनुसार देशको अर्थतन्त्र समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर अस्पतालको बिजनेसमा परेको हो ।

कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साँउदको भनाइपनि यस्तै छ । उनी पनि अस्पतालको व्यापार ओरालो लाग्दै गएको बताउँछन् । यस्तै अवस्था रहने हो भने अस्पताल चलाउनै गाह्रो हुने उनको भनाइ छ ।

‘माया मेट्रो अस्पतालको ओपीडीमा पहिले दैनिक चार सय बिरामी उपचारको लागि आउँथे । तर, अहिले दुई सयको हाराहारीमा पनि बिरामीको संख्या पुग्दैन,’ उनले विकासन्युुजसँग भने ।

३० प्रतिशतसम्म घटे बिरामी

नीजि अस्पतालमा बिरामीको चाप कति घट्यो भन्ने अध्ययन नभएपनि २५ देखि ३० प्रतिशतको हाराहारीमा बिरामीको संख्या घटेको चिकित्सकहरू नै बताउँछन् । नर्भिक अस्पतालका सीईओ मिश्र ३० प्रतिशतसम्म बिरामीको संख्या घटेको बताउँछन् ।

यस्तै, फ्रन्ट लाइन अस्पतालको जिम्मेवारीमा रहेका वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे पनि अर्थतन्त्रमा देखिएको समस्याको असर स्वास्थ्य क्षेत्रमा पनि देखिएको बताउँछन् ।

‘विश्वभर हरेक क्षेत्रमा असर परिरहेकोबेला यो क्षेत्रमा पनि जोखिम पर्नु स्वभाविक हो । तर, यसको असर कस्तो परिरहेको छ भनेर हेरिनु चाहिँ ठूलो विषय हो,’ उनले भने ।

जोखिममा लगानी

हुन त स्वास्थ्य क्षेत्रलाई व्यापारभन्दा सेवाकारूपमा हेरिन्छ । तर, हरेक क्षेत्र कुनै न कुनै किसिमले नाफासँग ठोकिन्छ । अहिले अर्थतन्त्रमा देखिएको सुस्तताको कारण अस्पताल जानै पर्ने र पहिले नियमित स्वास्थ्य चेकजाँच गर्नेहरू अस्पताल नआउँदा स्वास्थ्य संस्थाहरूको आम्दानी घटेको उनीहरू बताउँछन् ।

यसले समग्र स्वास्थ्य क्षेत्रमा भएको लगानी जोखिममा पर्न सक्ने संकेत पनि देखिएको छ । माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद धनगढीका धेरैजसो निजि अस्पतालको लगानीकर्ता सेयर बिक्री गरेर बाहिरिने योजनामा रहेको बताउँछन् ।

‘मलाई घाटा भयो अब यस्तो गर्छु भनेर खुलेरै त कोही बोलेका छैनन्, तर बजारमा कुरा सुन्दा अधिकांश लगानीकर्ता साथीहरू सेयर बिक्री गरेर यो क्षेत्रबाट बाहिरिने अवस्थामा पुगिसकेका छन्,’ उनले भने ।

यस्तै, निजी अस्पतालहरूको छाता संस्था अफिन नेपालका अध्यक्ष पदमबहादुर खड्का पनि लगानीकर्ताहरू यो क्षेत्रबाट पलायन हुन लागेको धारणा राख्छन् । उनले पनि स्वास्थ्य क्षेत्रमा अहिले एक किसिमको संकट सिर्जना भएको बताए ।

‘स्वास्थ्य क्षेत्रका सामान महंगो छन्, बैंकको ऋणले अस्पतालहरू खोलिएका छन्, अहिले ऋणको उच्च ब्याज पनि समस्याका रूपमा छ, धेरै साथीहरूले अहिले समस्या भएको सुनाउँछन्,’ उनी भन्छन्, ‘अब सरकारले स्वास्थ्य संस्थाहरूलाई पनि सहुलियत ब्याजमा ऋण लगानी गर्नु पर्ने व्यवस्था गर्नुपर्छ ।’

सरकारी अस्पताल सुधारको प्रभाव

निजी अस्पातलभन्दा सरकारी अस्पतालमा उपचार गराउन सस्तो पर्छ । तर, सरकारी अस्पतालमा बिरामीलाई पालो पाउनै गाह्रो हुने अवस्था नौलो होइन । कतिपय बिरामीले उपचारको पालो कुर्दै ज्यान गुमाउनुपरेको हामीले सुन्दै आएका छौँ । पछिल्लो समय वीर अस्पताल, टिचिङ लगायत अन्य सरकारी अस्पतालहरूको गुणस्तरमा सुधार हुँदा निजी अस्पतालमा बिरामीको संख्यामा कमी आएको बताउनेहरू पनि धेरै छन् ।

सरकारी अस्पतालमै सस्तो र राम्रो उपचार पाइने हुँदा पनि निजी अस्पतालमा बिरामीको चाप घटेको हुन सक्ने विश्लेषण निजी अस्पतालका चिकित्सकहरूको पनि छ ।

अफिनका अध्यक्ष डाक्टर खड्का प्रत्येक सहर तथा प्रदेशमा नयाँ अस्पताल खुल्दा बिरामी बाँडिएको धारणा राख्छन् । ‘मेरो अस्पतालकै कुरा गर्दा पहिलेको जति बिरामी आउँदैनन्, यसको कारण आर्थिकमात्र हैन, अस्पतालको संख्या वृद्धि र गाउँ–गाउँमा पनि अस्पताल खुल्नु हो, सरकारी अस्पतालमा पनि राम्रो सुविधा पाइन थालेको छ,’ उनी भन्छन्, ‘त्यसैले पनि निजी अस्पतालमा बिरामी घटेका हुन् ।

नर्भिक अस्पतालका सिईओ मिश्र उपत्यका बाहिरका सहरमा पनि राम्रा सरकारी अस्पताल हुँदा उपत्यकाका निजि अस्पतालमा बिरामीको संख्या घटेको बताउँछन् । ‘अहिले चितवन स्वास्थ्यको हब बनेको छ, नेपालगञ्ज, पोखरा, बिराटनगर र धनगढी जाताततै अस्पतालहरु खुलेका छन्, त्यसैले पनि बिरामीको संख्या निजी अस्पतालमा घट्दैछ,’ उनले भने ।

मन्दीको विषयमा बढी राजनीति भयो : अजय मिश्र

अस्पतालमा दुई किसिमका सेवाहरु प्रभुत हुन्छन् । एउटा प्रीभेन्टिब टिटमेन्ट र अर्को (अर्जेन्सी इमरजेन्सी) प्रीभेन्टिब ट्रिटमेन्ट भनेको म ४० वर्ष कटें, ५० वर्ष कटें मैले वर्षको एक पटक स्वास्थ्य जाँच गर्नुपर्छ है भन्ने किसिमका स्वास्थ्य जाँचहरू हुन्छ । अहिले आर्थिक मन्दी छ, मसँग आम्दानी कम छ, भोलि कस्तो अवस्था आउला अहिले भएको बचत गरिराखाँै भन्ने सोच आउने बित्तिकै म रोकथाम उपचार (प्रीभेन्टिभ चेकअप)गराउँदीन अथवा भनौं, म वर्षको एक पटक चेकजाँच गर्दै आएको थिएँ । अब म गराउँदिन भन्ने खालको देखिएको छ । मलाई सर्जरी गराउनुपर्ने छ, स्टोन छ आज गराएपनि हुने, ६ महिनापछि गराएपनि हुने, एक वर्षपछि गराएपनि हुने भन्ने अवस्था छ भनेपछि यसलाई पछि गरौँला भन्ने गरिरहेको पाइन्छ ।

किन कि अहिले आर्थिक अवस्था राम्रो छैन भन्ने सबैतिर सुनिन्छ । किन सबै पैसा खर्च गरिहाल्नुप¥यो भन्ने प्रायः अहिले धेरैजसोको मनसाय यस्तै भएको पाइन्छ । यो मन्दिले कहाँनेर असर गरेको छैन भने नगरी नहुने (अर्जेन्सी इमरजेन्सी) सेवा प्रवाह घटेको छैन । भन्नुको मतलब अस्पतालको अहिलेको व्यवसायमा नगरी नहुने (अर्जेन्सी इमरजेन्सी) सेवा घटेको छैन । तर, जुन भविष्यमा निरोगी हुनलाई प्रत्येक वर्ष स्वेच्छाले (प्रीभेन्टिब) जाँच गरिन्थ्यो त्यो व्यवसाय खस्किदै गएको अवस्था छ । समष्ठिगत रुपमा हेर्ने हो भने अस्पतालमा पनि बिरामीको चाप घटेको छ । एकिन तथ्यांक नभएपनि हाम्रो अस्पताल र अर्को अस्पतालको साथीभाईहरुसँग कुरा गर्दा २५ देखि ३० प्रतिशतको बिचमा बिरामीको स्कोप घटेको देखिएको छ ।

यसका दुई कारणहरू हामीले देख्न सक्छौं । एउटा आर्थिक अवस्थाको कारणले गर्दा र अर्को काठमाडौं बाहिर पनि सुविधासम्पन्न अस्पताल खुल्दा । अब बिरामीहरूले काठमाडौंका अस्पतालहरूको मात्र भर पर्नु पर्दैन । अहिले एक प्रकारको चेकअप उपत्यका बाहिरै हुने गरेको छ । जस्तै चितवन मेडिकल हब बनेर आयो, जनकपुर, बिरटनगर, पोखरा नेपालगञ्ज लगायतका ठाउँमा एक किसिमका सुविधा सम्पन्न अस्पतालहरू खुले । त्यहाँबाट जो बिरामी काठमाडौँ आउनुपथ्र्यो त्यहाँ रोकिने अवस्था आयो । त्यो उपचार त्यहाँ सम्भव भएन भनेमात्र उपचारका लागि बिरामी काठमाडौ आउने गर्नुभएको छ । एउटा यो कारण रह्यो भने, अर्को आर्थिकको असर पनि देखियो जसका कारण अस्पतामा बिरामीको चाप घट्यो भने, अस्पतालको व्यवसाय ओरालो लाग्ने अवस्थामा आयो ।

यो आर्थिक मन्दीको अवस्था पनि कस्तो देखियो भन्दा जुन तहको आर्थिक अवस्था ओरालो लाग्यो यसको सामाजिक सञ्जाल, मिडिया, समाजमा व्यापक हल्ला भयो । यसमा रानीतिकीकरण पनि अलि बढीभयो । सत्तापक्ष जहिलेपनि आर्थिक अवस्था सुधार भन्ने विपक्षीले जहिले पनि बिग्रीयो भन्ने जसले गर्दा जनमानसमा आत्तिएको अवस्था छ । जसले गर्दा प्रीभेन्टीब चेकजाँचहरु घटेको अवस्था छ ।

त्यो पनि हो । पहिला मुटुरोग भनिसकेपछि नर्भिक र्निविकल्प अस्पताल थियो । सबैले चिनेको भनेको नर्भिकलाई मुटुको राम्रो अस्पताल भनेर हो । पछि सरकारले गंगालाल राष्ट्रिय हृदय केन्द्र निर्माण ग¥यो । मनमोहन कार्डयोथोरासिक आयो निजामर्ती कर्मचारी, नीजामती रिटायर्ड कर्मचारी सिभिल अस्पताल, वीर अस्पतालले पनि सेवा सुविधा बढाएको छ जसका कारण बिरामी बाँडिए यसले गर्दापनि घटेको जस्तो देखिन्छ । साधनस्रतो सुविधा सम्पन्न अस्पताल निर्माण भए । यसको पनि प्राइभेट अस्पतालमा असर परेको छ । एकातिर सरकारी अस्पतालमा स्रोतसाधान नयाँ आएको छ भने, अर्कातिर निजी अस्पताल भन्दा सरकारी अस्पताल सस्तो भएर पनि बिरामीहरु उता जान थाले । अपेक्षाकृत रुपमा पहिले भन्दा सेवा बिस्तार भएको छ । जनताले खोज्ने भनेको सस्तो र सुलभ उपचार हो ।

Share News