काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको आधार दर एकल अंकमा झरेको बताएका छन् । बुधबार अर्थसमितिमा बोल्दै गभर्नर अधिकारीले सो बताएका हुन् ।
‘अघिल्लो आर्थिक वर्षको असोजमा वाणिज्य बैंकहरुको औसत आधारदर १०.३४ प्रतिशत रहेकोमा २०८० असोजमा एक अंक अर्थात ९.९४ प्रतिशत झरेको छ,’ उनले भने ।
त्यस्तै, उनले कर्जाको ब्याजदर थप घट्ने समेत बताएका छन् । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा विवरण पेश गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर थप घटाउँदै लगेको हुँदा कर्जाको ब्याजदर पनि घट्ने बताएका हुन् ।
२०७९ माघमा वाणिज्य बैंकहरुको भारित औसत कर्जाको ब्याजदर १३.०३ प्रतिशत पुगेकोमा २०८० असोजमा १२.१ प्रतिशतमा झरेको राष्ट्र बैंकले जानकारी गराएको छ ।
त्यस्तै, गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको छ । यसले मौद्रिक विस्तार उच्चदरले बढेको देखिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर थप घटेर २०८० मंसिर १८ गते २.६२ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ असोजमा ८.७१ प्रतिशत रहेकोमा २०८० असोजमा २.२६ प्रतिशत छ । यस्तो अन्तर बैंक ब्याजदर थप घटेर २०८० मंसिर १८ गते १.०१ प्रतिशत कायम भएको छ ।
यस्तो छ राष्ट्र बैंकले अर्थ समितिमा पेश गरेको पछिल्लो तथ्यांक
