एक सय खर्ब पुग्यो बैंकिङ क्षेत्रको सम्पत्ति

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति तथा दायित्व १ सय खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र गैरवित्तीय संस्थाहरूको कुल सम्पत्ति ७.५५ प्रतिशत बढेर ९२ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा ८६ खर्ब [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति तथा दायित्व १ सय खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र गैरवित्तीय संस्थाहरूको कुल सम्पत्ति ७.५५ प्रतिशत बढेर ९२ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा ८६ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ कुल सम्पत्ति तथा दायित्व थियो ।

वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व ६४ खर्बभन्दा बढी पुगेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८०को असारसम्म वाणिज्य बैंकहरूको कुल सम्पत्ति ६४ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष बैंकहरू कुल सम्पत्ति तथा दायित्व ५९ खर्ब ५६ अर्ब ८ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशत अर्थात् ४ खर्ब ४७ अर्ब २३ करोड रुपैयाँ वृद्धि भएको हो ।

राष्ट्र बैंकका अनुसार २०८० असारसम्म विकास बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १०.९ प्रतिशत अर्थात् ६५ अर्ब ४९ करोड रुपैयाँले वृद्धि भई ६ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ५ खर्ब ९९ अर्ब ५२ करोड रुपैयाँ कुल सम्पत्ति थियो ।

समीक्षा अवधिमा वित्त कम्पनी (फाइनान्स)हरूको ०.५ प्रतिशत अर्थात् ८१ करोड रुपैयाँ बढेर १ खर्ब ५२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । २०७९ असारसम्म फाइनान्स कम्पनीहरूको कुल सम्पत्ति तथा दायित्व १ खर्ब ५१ अर्ब ७९ करोड रुपैयाँ थियो ।

तर, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति भने समीक्षा अवधिमा घटेको छ । तथ्याङ्क अनुसार लघुवित्त संस्थाहरूको कुल सम्पत्ति २.३ प्रतिशत घटेर ५ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने लघुवित्त संस्थाहरूको कुल सम्पत्ति ५ खर्ब १९ अर्ब ६५ करोड रुपैयाँ थियो ।

समीक्षा वर्षमा नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको कुल सम्पत्ति १२.९ प्रतिशत बढेर २९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २५ अर्ब ८२ करोड रुपैयाँ थियो ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार गत असारसम्म १४ जीवन, १४ निर्जीवन, २ पुनरबीमा र ४ लघुबीमा कम्पनी गरी कुल ३४ बीमा कम्पनी सञ्चालनमा छन् । बीमा कम्पनीहरूको कुल सम्पत्ति २०७९ असारसम्म ६ खर्ब २४ अर्ब १३ करोड रुपैयाँ रहेकोमा ९.१ प्रतिशत बढेर २०८० असारसम्म ६ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यसअघि २०७८ असारमा ५ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ थियो ।

कर्मचारी सञ्चय कोषको सम्पत्ति ११.५ प्रतिशत बढेर ५ खर्ब १२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ थियो । २०७८ असार मसान्तमा ४ खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।

नागरिक लगानी कोषको सम्पत्ति ७.३ प्रतिशत बढेर २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति २ खर्ब ४७ अर्ब ५२ करोड रुपैयाँ थियो । यस्तै, सामाजिक सुरक्षा कोषको ३७ प्रतिशत बढेर ७४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष उक्त रकम ५४ अर्ब ६७ करोड रहेको थियो ।

Share News