
काठमाडौ । एनसेल आजियाटाले सेयर खरिद बिक्रीमा नेपालको कानुन पूर्ण रुपमा पालना गर्ने बताएको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै आजियाटाले आफू नेपालको कानूनको पालना गर्न प्रतिवद्ध रहेको बताएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी गराए ।
अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष खनालले एनसेल खरिद बिक्रीमा नेपालको कानून पालन गर्न एनसेल आजियाटाले तयार रहेको बताएका हुन् ।
यसअघि आजियाटाले सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिई एनसेलको सेयर किनबेच गरेको भन्दै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेखेको थियो । जसमा सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको समेत जानकारी गराइएको थियो ।
यस्तो छ एनसेल आजियाटाले पठाएको जवाफी पत्र
यस कम्पनीको सेयरधनी रेनोल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्री गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडबीच सेयर बिक्री सम्झौतासम्म गरेकाले त्यहाँको पत्रमा उल्लेखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियामली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लेखित सेयर खरिद बिक्रीका लागि भएको दुई पक्षीय सम्झौता समेतका कागजातहरु तदारुकतासाथ सम्बन्धित पक्षबाट छलफलका क्रममा रहेको अवतग गराउन चाहन्छौं ।
एनसेल आजियाटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानूनी कर्तव्य पालनमा सदैब जागरुक र कटिबद्ध रहेको प्राधिकरणमा अवगत नै छ । अतः तहाँको पत्रमा उल्लेखित नियमावली र विनियामवलीका प्रावधानहरुको पूर्ण पालना गर्न सदाझैं एनसेल आजियाटा प्रतिबद्ध रहेको व्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनयामवली, २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजातहरु संलग्न गरि दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियामली, २०७६ को विनियम ४ (क) बमोजिम त्यहाँ प्राधिकरणसमक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरासमेत सादर अवगत गराउन चाहन्छौं ।