एनसेलबाट आजियाटाले लग्यो साढे ६६ अर्ब रुपैयाँ लाभांश

<p>काठमाडौं । एनसेलको विदेशी साझेदार आजियाटाले नेपालबाट ६६ अर्ब ८० करोड रुपैयाँ लाभांश लगेको छ । नेपाल राष्ट्र बैंक स्रोतले उपलब्ध गराएको तथ्यांक अनुसार आजियाटाले ६ आर्थिक वर्षमा कुल ६६ अर्ब ८० करोड ८५ लाख ४५ हजार रुपैयाँ लाभांश लगेको हो । सुरुवाती वर्षहरूमा कम्पनीले २३ अर्ब रुपैयाँसम्म लाभांश लगेको भएपनि पछिल्लो वर्षहरूमा भने त्यो [&hellip;]</p>

काठमाडौं । एनसेलको विदेशी साझेदार आजियाटाले नेपालबाट ६६ अर्ब ८० करोड रुपैयाँ लाभांश लगेको छ । नेपाल राष्ट्र बैंक स्रोतले उपलब्ध गराएको तथ्यांक अनुसार आजियाटाले ६ आर्थिक वर्षमा कुल ६६ अर्ब ८० करोड ८५ लाख ४५ हजार रुपैयाँ लाभांश लगेको हो ।

सुरुवाती वर्षहरूमा कम्पनीले २३ अर्ब रुपैयाँसम्म लाभांश लगेको भएपनि पछिल्लो वर्षहरूमा भने त्यो रकम घटेको तथ्यांकले देखाउँछ ।

आजियाटाले आर्थिक वर्ष २०७३/७४ मा एनसेलमा गरेको लगानीबापत् ८ अर्ब ३६ करोड रुपैयाँ लाभांश लगेको छ भने आर्थिक वर्ष २०७४/७५ मा २३ अर्ब ५० करोड ५२ लाख ८० हजार रुपैयाँ लाभांश रकम फिर्ता लगेको छ ।

यस्तै, आर्थिक वर्ष २०७५/७५ मा लाभांश रकम करिब आधाले घटेर १२ अर्ब ५४ करोड रुपैयाँ झरेको देखिन्छ भने आर्थिक वर्ष २०७६/७७ मा लाभांश नै लगेको देखिँदैन । तर, त्यो वर्ष एनसेलले ४६ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा आजियाटाले १३ अर्ब ९७ करोड १८ लाख ४० हजार, आव २०७८/७९ मा ४ अर्ब ७७ करोड ७२ लाख १९ हजार र आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ६५ करोड ४२ लाख ६हजार रुपैयाँ लाभांश फिर्ता लगेको राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

आजियाटाले एनसेलबाट पाउने लाभांश रकम वर्षेनी घट्दै जाँदा र व्यवसाय विस्तारमा पनि अनेक समस्या झेल्नुपर्दा कम्पनी निरुत्साहित भएर बाहिरिएको हुन सक्ने धारणा राष्ट्र बैंक स्रोतको छ ।

सेयर बेचेपनि लाभांश पाउने

आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर नेपाली मुलका विदेशी नागरिक सतिशलाल आचार्यको ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बिक्री गरेका छन् ।

विशेषतः एनसेलमा आफ्नो खर्ब बढी सम्पत्ति रहेको आजियाटाले ८० प्रतिशत सेयर साढे ६ अर्बमा बिक्री गर्दा यसभित्रको रहस्यको विषयमा सबैको चासो बढ्न थालेको छ । सडकदेखि सदनसम्मको चासोको विषयकारूपमा एनसेलको सेयर खरिद बिक्रीलाई लिइएको छ ।

सन् २०१६ मा तत्कालीन टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत सेयर एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा मलेसियन कम्पनी आजियाटालाई बिक्री गरेको थियो । तर, अहिले सोही सेयर पाँच करोड अमेरिकी डलर अर्थात् साढे ६ अर्ब रुपैयाँमा बिक्री भएको छ । चलिरहेको व्यवसाय किनेको रकमभन्दा ९६ प्रतिशत कम रकममा बेच्नु अस्वभाविक पक्कै पनि हो ।

तर, सस्तैमा बिक्री गरेपनि दुई कम्पनीबीच लाभांश आजियाटचाले पाउने सअमति भएको छ । एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । लाइसेन्सको अवधिभरको लाभांश आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजियाटाकै हुने गरी दुई कम्पनीबीच समझदारी भएको हो ।

दुई कम्पनीबीच भएको समझदारी अनुसार २०२३ को ८० प्रतिशत लाभांश आजियाटाले पाउनेछ । २०२४ र २०२५ मा ४० प्रतिशत, सन् २०२६ र ०२७ मा ३० प्रतिशत र सन् २०२८ र ०२९ मा २० प्रतिशत लाभांश पाउने दुई कम्पनीबीच सहमति भएको छ । यसबापत् पनि आजियाटालाई फाइदा नै हुने देखिन्छ ।

यस्तो छ आम्दानी

वि.स २०७२ चैत ३० गते नेपाली बजारमा बजारमा प्रवेश गरेको आजियाटा सुरुवाती वर्षहरूमा राम्रै आम्दानी गरेको देखिन्छ । तर, पछिल्लो वर्षहरूमा भने कम्पनीको व्यापारसँगै आम्दानी पनि केही घटेको देखिन्छ ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा एनसेलले ५७ अर्ब ७२ करोड आम्दानी गरेको थियो भने आर्थिक वर्ष ०७३/०७४ मा ५६ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, आर्थिक वर्ष ०७४/०७५ मा एनसेलले ५९ अर्ब ६९ करोड कमाएको देखिन्छ । जुन एनसेलले हालसम्मकै बढी आम्दानी हो ।

आर्थिक वर्ष २०७५/०७६ मा एनसेलको आम्दानी ५५ अर्ब २८ करोड रुपैयाँ रहेको थियो भने आव २०७६/०७७ मा ४६ अर्ब ७६ करोड, आव ०७७/०७८ मा ४० अर्ब २२ करोड, आव ०७८/०७९ मा ३९ अर्ब ५० करोड र आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

Share News