नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त, पुस १३ गते बोलायो एजीएम

  २०८० मंसिर १९ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा आइएमई इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक दिवाकर पौडेल बिदा भएसँगै कम्पनीले उक्त पदमा मास्केलाई नियुक्त गरेको हो ।

मास्के यसअघि एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक थिइन् । उनले हालै मात्रै उक्त पदबाट राजीनामा दिएकी हुन् ।

नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएसँगै उक्त समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक बाहिरिएका हुन् । गत साउनमा मात्रै नेपाल इन्स्योरेन्समा रहेको आईएमई समूहको २१ लाख ५७ हजार ६१५ कित्ता अर्थात १५ प्रतिशत संस्थापक सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको थियो ।

साथै, मंगलबार बसेको सोही बैठकले आगामी पुस १३ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.