भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका लागि क्षेत्र छुट्याइदिन रेडक्रसको माग

  २०८० मंसिर १८ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका लागि क्षेत्र छुट्याइदिन माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रेडक्रसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा क्षेत्र छुट्याइदिएर पुनः निर्माण गर्न दिए आफूहरुलाई सहज हुने बताएको हो । आफूहरुलाई प्रभावित क्षेत्र छुट्याइ काम गर्न दिए कामको उपलब्धि देखाउन सकिने र काम पनि राम्रो हुने उनीहरुको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले केही दिनअघि आफूहरुले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेको र सो क्रममा विकराल स्थिति पाएको बताए । उनले भौतिक संरचनाहरु बाहिरबाट राम्रो देखिएपनि भित्र बस्न मिल्ने अवस्थामा नरहेको बताए । उनले भ्रमणका क्रममा रेडक्रसले कम्बलहरु, म्याट्रेस, त्रिपाल पीडित बासिन्दालाई प्रदान गरेको बताए । भूकम्पपीडतलाई रकम वितरण, घर निर्माण गर्नेदेखि सबै उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताउँदै सबैको सहयोग र समन्वयमा पीडितलाई छिटो राहत दिनुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

‘भूकम्प प्रभावित क्षेत्र रुकुम र जाजरकोटको भ्रमण गर्यौं । त्यहाँको स्थानीय तहसँग पनि छलफल गरेर, भोलिन्टियर शाखासँग पनि छलफल गरेका थियौँ । कसरी जाने त भन्दा हामीले व्यक्तिगत रुपमा हेर्दा विकराल स्थिति छ । मानवीय क्षति भनेको दुःखदायी घटना हो । घरहरु बाहिरबाट सर्लक्क देखिन्छन् पनि तर भित्र लथालिंग छ । बस्नलायक घरहरु ज्यादै कम छन् । मौसमको यो अवस्थामा रेडक्रसले ननफुड आइटम कम्बलहरु, म्याट्रेस, त्रिपाल पु¥याउने काम गरेको छ । क्यास डिस्ट्रिब्युसनको कुरा छ । सरकारले पनि क्यास डिस्ट्रिब्युसन घर निर्माण गर्नेदेखि लिएर सबै कुरालाई सेवा सुविधामा उपलब्ध गराउँदै छ भने हामी डुप्लिकेशन अफ वर्क होस् भन्ने चाहन्छौँ । त्यो किसिमको आग्रह सरकारसँग पनि गर्न चाहन्छौँ । डुप्लिकेसन पनि नहोस् । हामीले दिने सुविधाबाट कोही वञ्चित नहोस् । हामीलाई एरिया छुट्याइदिनुस्, हामी डिटेल सर्वेसहित सबैकुरा गर्छौं, त्यहाँ दिनुपर्ने भूकम्पपछिको राहत र पुनः स्थापना छन् त्यसमा एरिया छुट्याइदिए हाम्रो पर्फमेन्स देखाउँछौँ ।’ उनले भने ।

अध्यक्ष नेपालले सरकार र संघसंस्थाले दिने सुविधाबाट पीडित नागरिक वञ्चित हुन दिनु नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.