काठमाडौं । अटो व्यवसायीहरूको छाता संस्था अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनावी माहोल रोचक बन्दै गएको छ । चुनाव नजिकिएसँगै नाडाको भावी अध्यक्षका लागि एकपछि अर्कोको आकांक्षा बढ्दै गएको हो ।
एक महिनापछि अर्थात् पुसको २० र २१ गते हुने नाडा चुनावमा अध्यक्ष पदका लागि अटोमोबाइल्स व्यवसायीहरू प्रतिस्पर्धामा उत्रिने आकांक्षा व्यक्त गरिरहेका छन् ।
नाडाको अध्यक्ष बन्नका लागि फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ, सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्सका करण चौधरीले र वर्तमान कार्यसमितिका सदस्य प्रकाश कपुरीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यसअघिको निर्वाचनमा अध्यक्षका लागि उम्मेदवार बनेर चौधरी पराजित भएका थिए । आकांक्षीहरूले अध्यक्ष पदमा सर्वसम्मतको प्रयास भइरहेको पनि बताएका छन् । सर्वसम्मत नभए प्रजातान्त्रिक अभ्यास अवलम्बन गर्दै चुनावी मैदानमा उत्रिनेछन् ।
अध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका गोल्छा नाडाको भावी अध्यक्षको लागि सर्वसम्मत प्रयास भइरहेको बताउँछन् । ‘मेरो चाहना अध्यक्षको हो, यसको लागि मेरो आफ्नो तयारी भइरहेको छ, सर्वसम्मतरूपमा कार्यसमिति छानिन सक्ने सम्भावना पनि छ, मैले उम्मेदवारहरूसँग छलफल गरिहरेको छु, सर्वसम्मत भएन भने चुनावी मैदानमा उत्रन्छौं,’ उनले भने ।
सर्वसम्मत नभए आफू चुनावी मैदानमा उत्रन तयार रहेको उनको भनाइ छ । ‘मिलेर अगाडि बढ्नका लागि उहाँहरूबाट प्रस्ताव आएको छ, मेरो तर्फबाट पनि अध्यक्ष बनाउनु पर्यो भनेर प्रस्ताव गएको छ, त्यो प्रस्तावमा छलफल भइरहेको छ,’ उनले भने, ‘त्यसको निर्णय भने भइसकेको छैन, मलाई लाग्छ म सहमतिमै अध्यक्ष बन्छु ।’
चुनाव भए समर्थन पाउने र आफूले जित्ने विषयमा विश्वस्त रहेको उनको भनाइ छ ।
यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ पनि सर्वसम्मतको पक्षमै छन् । श्रेष्ठ र प्रतिस्पर्धी करण चौधरीबीच सहकार्य हुन सक्ने सम्भावना देखिएको छ । त्यो विषयको स्वीकार स्वयम् श्रेष्ठ पनि गर्छन् ।
‘हाम्रो टिम नेतृत्वमा रहेर राम्रो काम गर्न सक्छ, यदि चुनाव नै हुने भयो र करण अध्यक्षमा उठ्नु भयो भने म छाड्छु, म उम्मेदवार भएँ भने उहाँले छाड्न सक्नु हुन्छ, निर्णय चाहिँ बाँकी छ,’ उनले भने ।
वर्तमान नाडाका उप–सभापति समेत रहेका श्रेष्ठले अटो क्षेत्र नै समस्यामा परेको बेला चुनाव गर्नु उपर्युक्त नहुने धारणा राखे ।
अर्का उम्मेदवार प्रकाश कपुरी पनि आफ्नो जित निश्चित भएर नै मैदानमा होमिएको बताउँछन् । कपुरी भने चुनावी प्रक्रियामै अगाडि बढ्नुु पर्ने धारणा राख्छन् ।
‘सर्वसम्मत भए मलाई अध्यक्ष छाडिदिनु पर्छ, होइन भने चुनाव गर्नुपर्छ,’ उनी भन्छन्, ‘चुनाव भयो भने म जित्नेमा विश्वस्त छु ।’
सर्वसम्मतको प्रयासमा अध्यक्ष
नाडाका अध्यक्ष ध्रुब थापा सर्वसम्मत ढंगले नेतृत्व चयन हुनुपर्ने बताउँछन् ।
‘उहाँहरू मिल्नुभयो भने सर्वसम्मतरूपमा एक जना अध्यक्ष बन्नुहुन्छ, मिल्नु भएन भने चुनाव हुन्छ तर, यस्तो समयमा चुनाव हुनु हुन्न भन्ने पक्षमा म छु,’ उनले भने ।
निर्वाचन भए कडा प्रतिस्पर्धा हुने थापाको भनाइ छ । नाडाको निर्वाचन भएमा अध्यक्षहरूको छुट्टाछुट्टै प्यानल हुने सम्भावना देखिन्छ । थापा नाडाको विकासको लागि सबैले एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्छन् ।
अब बन्ने कार्यसमिति १७ जनाको हुनेछ । हालसम्म अध्यक्षको उम्मेदवारको चर्चा भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूको भने टुङ्गो लागेको छैन ।