कर नतिर्ने साढे दुई सय सहकारीलाई कारबाही गर्दै महानगर, को-को परे ?

  २०८० मंसिर १७ गते ११:३६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकालाई कर नबुझाउने सहकारी संस्थाहरूको संख्या बढेको छ । महानगरभित्र सञ्चालित विभिन्न सहकारीहरूले लामो समयदेखि व्यवसायिक तथा बहाल कर नतिरेको भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।

महानगरका अनुसार काठमाडौं महानगरभित्र सञ्चालित साढे दुई सय सहकारी संस्थाहरूले कर नतिरेको महानगरको भनाइ छ । काठमाडौं महानगरपालिका राजश्व विभागका निर्देशक ध्रुब कुमार काफ्लेले सहकारीलाई महानगरले कर बुझाउन पटक-पटक आग्रह गरे पनि हालसम्म कर नतिरेको उनको भनाइ छ । उनका अनुसार सहकारीबाट कर संकलन गर्न महानगरलाई सकस नै परेको छ ।

उनका अनुसार ती सहकारीहरूले महानगरलाई विगत दुई/तीन वर्षदेखिको कर भुक्तानी गर्न बाँकी छ । महानगरले कर बुझाउनका लागि पटक/पटक सूचना प्रकाशन गर्दै आए पनि कर बुझाउन अटेर गरेको काफ्लेको भनाइ छ ।

कर नबुझाउने सहकारीहरूलाई महानगरले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ । ‘महानगरको तर्फबाट गर्नुपर्ने सहजीकरण हामी गर्छौं, सहजीकरण गर्दागर्दै पनि उहाँहरूले कर बुझाउन अटेर गर्नुभयो भने व्यवसाय बन्द गर्न सक्ने अवस्थामा महानगर पुग्नेछ,’ उनले भने ।

आगामी पुस मसान्तभित्र कर बुझाउने सहकारीलाई महानगरले कर छुटको व्यवस्था पनि गरेको उनको भनाइ छ । ‘पुष मसान्तसम्म कर बुझाए भने सहकारीहरूलाई कर छुट हुन्छ, ती सहकारीले १० प्रतिशतसम्म छुट पाउँछन्, कर भुक्तानी भएन भने उनीहरूले जति वर्ष अघिदेखि कर बुझाएका छैनन्, सोही अवधिदेखिको जरिवाना लाग्छ, छुट पनि पाउँदैनन्,’ उनले भने ।

यसअघि महानगरपालिकाले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै ७९ वटा सहकारीलाई कारबाहीको लागि प्रहरीसमक्ष पत्र पठाएको थियो ।

यस्तै, महानगरभित्र सञ्चालित सहकारीको विषयमा उजुरी पनि बढेको छ । महानगर क्षेत्रभित्र भएका सहकारीहरूमा सर्वसाधारणले बचत रकम जोखिममा परेको भन्दै उजुरी गर्न थालेका हुन् ।

यस्तै कर नतिर्ने तीन वटा लघुवित्तलाई पनि महानगरले कर तिर्न आग्रह गरेको छ । महानगरले आदर्श, मानुषी र राष्ट्रिय उत्थान लघुवित्तले पनि कर नतिरेकोले कर तिर्न आग्रह गरेको हो ।

महानगरले पुस मसान्तसम्म कर बुझाउँदा १० प्रतिशत छुट हुने व्यवस्था पनि गरेकाे छ । महानगरले वर्षमा ६ किस्तामा कर तिर्न सकिने व्यवस्था पनि गरेकाे छ ।

पुस १६ गते अपडेट

कर ननिर्ते सहकारीको सूचिमा २५९ वटा सहकारीहरू रहेकोमा सूचि नम्बर ५१ मा रहेको इमानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० साल असोज २६ गते महानगरपालिकालाई बुझाउनु पर्ने सबै कर बुझाएको र सोही मितिमा नविकरण गरेको उक्त सहकारीका प्रबन्धक अप्सरा बुढाथोकीले जानकारी दिइन् ।

सहकारीले आर्थिक वर्ष २०८०/८१ का लागि ३५ हजार ७४० रुपैयाँ महानगरलाई कर बुझाएको रसित समेत विकासन्युजमा पठाउँदै सूचिबाट नाम हटाउन आग्रह गरेकी छिन् । उक्त सूचि महानगरपालिकाले उपलब्ध गराएको हो । सम्पादक

यी हुन् कर नतिर्ने सहकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.