महिलाको आम्दानीको स्रोत बन्दै ‘अल्लो’

  २०८० मंसिर १६ गते १४:३६     विकासन्युज

ताप्लेजुङ । ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो ग्रामीण क्षेत्रका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका महिलाले अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत सामग्री उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

मैवाखोला गाउँपालिका–६ फागुम्बाका लाप्साङ शेर्पा विगत १० वर्षदेखि अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्दै आएकी छिन् । पोपेबुङ अल्लो प्रशोधन तथा कपडा उद्योग दर्ता गरेर घरबाटै उद्योग सञ्चालन गर्दै आएको शेर्पाले बताइन् । उनका अनुसार उद्योग सञ्चालन गर्नका लागि परिवारका तीन जना परिचालन हुँदै आएका छन् ।

शेर्पाले भनिन्, ‘खर्च कटाएर वर्षको दुईदेखि तीन लाखसम्म कमाउँदै आएको छु ।’ उनका अनुसार मासिक २५ देखि ३० हजारसम्म आम्दानी हुन्छ । यहाँ उत्पादित अल्लोको कपडा गाउँमै खपत हुँदै आएका शेर्पाको भनाइ थियो । उनले सरकारी कार्यालयमासमेत बिक्री हुने गरेको बताइन् ।

फुङ्लिङ नगरपालिका–१० का आशा लिम्बू विगत १५ वर्षदेखि अल्लो प्रशोधन तथा धागो उत्पादन र कपडा बुनाइलाई मुख्य पेशाकारुपमा अङ्गाल्दै आएकी छिन् । उनले उत्पादन गरेको कपडा बिक्री गर्नका लागि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अल्लोको कपडा बिक्री केन्द्रसमेत स्थापना गरेकी छिन् । केन्द्रमा उनीकपडालगायत अल्लोका सामग्री बिक्री गर्दै आएकी छिन् । लिम्बू ताप्लेजुङको अल्लो कपडा प्रशोधन तथा कपडा बुनाइका लागि प्रशिक्षकसमेत हुन् ।

हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङ्लिङ–१० वडाको समन्वय तथा रेडपाण्ड नेटवक, फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा दुईमहिने अल्लो प्रशोधन तथा कपडा उत्पादन तालिमको प्रशिक्षकका रुपमा अहिले लिम्बूले काम गर्दै आएकी छिन् । फुङ्लिङ–१० फुरुम्बु गाउँका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको मञ्चले जनाएको छ ।

तालिमका लागि रूपा लिङ्देन काखमा सानो नानी बोकेर आउँछिन् । उनी जस्तै चन्द्रकुमारी केदेम पनि सानो नानीसँगै तालीममा सहभागी भएर कपडा बुन्न सिक्दै छिन् । केदमले भनिन्, ‘आफ्नो गोजीमा पैसा भएको र अरुको गोजीमा पैसा भएको नमिल्दो रहेछ । त्यसैले आफ्नै गोजीमा पैसा ल्याउनका लागि सीप सिक्न थालेको छु ।’

केदेम र लिङ्देनसहित १७ जना महिला एक महिनादेखि आम्दानीको स्रोत बढाउन तालिम लिँदै आएका छन् । तालिम थप एक महिनासम्म सञ्चालन हुनेछ । सिप सिकेर आफैँ उद्यमी बन्ने योजना रहेको मिलन लिम्बूले बताइन् ।

उनीहरुलाई तालिम पछि व्यावसायिक बनाउनका लागि नगरपालिकाले सहयोग गर्ने उपप्रमुख भीमा देवी ओझाले बताइन् । अल्लोको उत्पादनलाई व्यावसायिक बनाउन सके ताप्लेजुङको मौलिक उत्पादनका रुपमा विश्वभर पठाउन सकिने उनको भनाइ थियो ।

भाङ्ग्रा, कोटलगायत सामग्री बनाउन मात्र प्रयोग गरिने अल्लोबाट हिजोआज झोला, गलबन्दी, जुत्ताचप्पल, कोटपाइन्ट, जुहारी कोटलगायत सामान बन्ने गरेका छन् । अल्लोको माग राम्रो रहे पनि मागअनुसार उत्पादन हुन सकेको छैन । अल्लोको प्रचुर सम्भावना भएकाले उद्योग स्थापना आवश्यक रहेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख युवराज घोरासाइनेले बताए । उनले जिल्लामा अल्लो उद्यमीले राम्रो आयआर्जन गर्दै आएका बताए ।

पछिल्लो समय स्थानीय स्तरबाटै अल्लोको क्षेत्रमा काम गर्ने प्रस्ताव आउन थालेको उद्योग कार्यालयले जनाएको छ । अल्लोबाट उत्पादन हुने कपडा विदेशीले पनि मन पराएकाले विदेशसमेत निर्यात हुने गरेको घोरासाइनेले बताए ।

अल्लोका सामान स्वदेशमै धेरै खपत हुने उद्यमीको भनाइ छ । जाडोयाममा न्यानो र गर्मीमा चिसो हुने कपडाको माग बढ्दो छ । गाउँघरमा खेर गएको अल्लोलाई प्रशोधन गरी उद्योग सञ्चालन गर्नसके यसको प्रवद्र्धन भई रोजगारीको अवसर सिर्जना हुने मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । उनका अनुसार व्यावसायिकरुपमा अल्लोको कपडा उत्पादन गर्नका लागि कच्चापदार्थको आवश्यक पर्दछ ।

वनजङ्गलमा पाइने अल्लोलाई संरक्षण गर्दै व्यावसायिकरूपमा यसको खेती गर्न उद्यमीलाई आवश्यक तालिम तथा प्राविधिक सहयोग गर्ने मञ्चको योजना छ ।

अल्लो के हो ?

वनस्पति विभागकाअनुसार अल्लो बहुउपयोगी वनस्पति हो । वनस्पतिको नरम मुना, पात, बोक्रा र जराका भाग निकै उपयोगी मानिन्छ । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग हुँदै आएको छ ।

अल्लोको कलिलामुना सागका रूपमा तरकारी खान प्रयोग गरिन्छ । यो वनस्पतिको पात टाउको तथा शरीर दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीका लागि अचुक औषधिका रुपमा लिने गरिन्छ । यस्तै यसको जराको रस मधुमेहका बिरामीका लागि अति नै उपयोगी मान्ने गरिन्छ । तन्त्रमन्त्र धारीले डमरु बनाउँदा पनि अल्लोको धागो प्रयोग गर्दछन् । परम्परागतरूपमा जनजातिले भाङ्ग्रा, नाम्ला, थैला आदि बनाउन मात्र प्रयोग हुने गरेको अल्लोको परिभाषा अहिले परिवर्तन भएको छ ।

जङ्गलमा पाइने अल्लो सङ्कलन गरेर अहिले आधुनिक प्रयोगमा आउने धागोका साथै त्यसबाट विभिन्न किसिमका कपडा उत्पादन हुन थालेको छ । करिब एक हजार पाँच सयदेखि तीन हजार मिटरसम्मको उचाइका जङ्गलमा पाइने अल्लोको प्रयोग हिजोआज नेपालका कार्पेट उद्योगले पनि गर्न थालेका छन् । अल्लोका कपडा देशविदेशमा माग बढ्दै गएको छ ।

ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा प्रशस्त मात्रामा पाइने अल्लोको सदुपयोग हुन थालेको छ । जङ्गलमा पाइने भएकाले स्थानीय बासिन्दाको आयआर्जनको भरपर्दो स्रोत बन्दै गएको छ । स्थानीय महिलाको आम्दानीको स्रोत बढाउन र स्वरोजगार बन्नका लागि अल्लोसम्बन्धी ताप्लेजुङमा तालिम सञ्चालन हुँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.