२०८० मंसिर १६ गते ११:३९ विकासन्युज
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले देशको अर्थतन्त्र संकटकाे अवस्थामा पुगिसक्दा पनि अर्थ मन्त्रालय र राष्ट्र बैंकले यकिन तथ्यांक सार्वजनिक नगरेको बताएका छन् ।
देशको अर्थतन्त्रले संकट सामना गर्नुपर्ने अवस्था आउँदा पनि प्रमुख दुई निकायले अर्थतन्त्रसम्बन्धी यकिन तथ्यांक सार्वजनिक नगर्नु सही कदम नभएको उनको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४औं वार्षिक साधारणसभामा मन्त्री ज्वालाले देशको अर्थतन्त्रबारे जसले जस्तो गीत गाए पनि अर्थतन्त्रले संकटको सामना गर्नुपरे पनि भयावय अवस्थामा पुगिनसकेकाे बताए ।
‘देशको आर्थिक अवस्था भयावह छैन, हामी थेग्न सक्ने अवस्थामा छौं, देश श्रीलंका बनिसक्याे भनेर जसले जस्तो गीत गाए पनि अर्थतन्त्र त्याे अवस्थामा छैन,’ उनले भने, ‘तर, यो अवस्था सुधारमा भने हामी लागिरहेका छौं।’
मन्त्री ज्वालाले समस्या समाधानका लागि काम गरिरहेकाे पनि बताए । यसका लागि अर्थमन्त्रालय र राष्ट्र बैंकलगायत निकायले यकिन तथ्यांक प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
‘बैंकको ब्याजदर घट्ने विषयमा सहमति भएको छ, यसका लागि हामीले दबाब पनि दिनुपर्छ,’ उनले भने, ‘करमा लगाएको जरिवानाको विषय पनि छ । त्यसलाई छुट दिन सकिने अवस्थालाई पनि हेर्नुपर्छ ।’
मन्त्री ज्वालाले अहिले घरजग्गा क्षेत्रमा देखिएका समस्या पनि तत्कालै समाधान गर्नुपर्ने बताए । यसका लागि सरकारले पनि प्रयास गरिरहेको र त्यसका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।
त्यसैगरी मन्त्री ज्वालाले भौतिक मन्त्रालयले सकेजति निर्माण व्यवसायीको भुक्तानी गरेको पनि बताए । ‘हामी आफैं माग्ने अवस्थामा छौं, व्यवसायीको बाँकी भुक्तानी कसरी गरौं ?,’ उनले प्रश्न गरेका छन् ।
बाँकी रहेको भुक्तानी जतिसक्दो चाँडो गरिने पनि उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.