१ खर्ब ४३ अर्बमा किनिएकाे एनसेल ६ अर्ब ६६ करोडमा बेचियो

  २०८० मंसिर १५ गते १८:१७     विकासन्युज

काठमाडौं । एनसेलबाट बाहिरिन लागेको आजियाटाको ८० प्रतिशत सेयर सतिशलाल आचार्यले खरिद गरेका छन् । एनसेलबाट आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियाटा र आचार्यबीच सेयर खरिदबिक्रीको सहमति भएकाे हाे ।

आजियाटाले आचार्यकाे स्पेकट्रलाइट युके लिमिटेडलाई ८० प्रतिशत सेयर बिक्री गरेको हो । आजियाटाले एक विज्ञप्ति जारी गर्दै सेयर बिक्री गरेको र नेपालबाट बाहिरिएको बताएको हो ।

आजिएटाले कुल ५ करोड अमेरिकी डलर अर्थात्  ६ अर्ब  ६६ करोड रुपैयाँमा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्त्तानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ ।

आचार्य स्पेकट्रलाइट युकेकाे सञ्चालक हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहमतिबिना सेयर खरिद बिक्री नहुने भएपनि यी दुई कम्पनीबीच सेयर खरिद बिक्रीको सहमति भएको हो ।

सतिश र उनका भाइ सचिनलाल आचार्यले एनसेलको ८० प्रतिशत सेयर खरिद गर्ने प्रतिवद्धता आजियाटासँग गरिसकेका छन्। आचार्य गैर आवासीय नेपाली हुन् । उनी सिंगापुरमा बस्छन् । यो कम्पनीको सेयर खरिद गर्नमा उनको श्रीमती भावना सिंहको पनि ठूलो हात रहेको बुझिएको छ ।

आचार्य र आजियाटाबीच विगत लामो समयदेखि राम्राे सम्बन्ध छ ।

विज्ञप्तिमा आजियाटाका अध्यक्ष तान श्री शहरिल रिड्जा रिडजुआनले एनसेलले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । उनले एनसेल देशमा एक उच्च करदाताको रुपमा रहेको र हालसम्म २ खर्ब ८३ अर्ब रुपैयाँ कर तिरेको उल्लेख गरेका छन् ।

यस्तै, उनले अब आफ्नो व्यवसायिक रणनीतिमा अगाडि बढ्ने बताएका छन् ।

यस्तै, आजियाटाका प्रबन्ध निर्देशक विवेक सूदले नेपालको कर नीति, लाइसेन्स नवीकरणलगायत नीतिले ठूलो चुनौती देखिएकोले बाहिरिनु परेको बताएका छन् । उनले नेपालबाट बाहिरिनु नै कम्पनीका सेयरधनीहरुको हितका लागि भएको बताएका छन् ।

वि.सं २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो । आजिएटा भने सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यो बेला १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा एनसेलको सेयर आजिएटाले किनेको थियो ।

सात वर्षको अवधिमा एनसेलले आजियटालाई २ अर्ब २ करोड रुपैयाँ लाभांश दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले भने आजियाटालाई सेयर खरिद बिक्री गर्नुअघि पूर्व स्वीकृति लिन पत्र काटेको छ । कम्पनीले सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेल आजियाटालाई पत्र काटेको हो ।

एनसेल आजियाटाको होल्डिङ कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनि जारी विज्ञप्तिप्रति ध्यानाकर्षण गराउँदै उक्त पत्र काटेको हो । पत्रमा सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ ।

‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणले काटेको पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.