टोपबहादुर थुनामै रहने, खाँणका स्वकीय सचिव धरौटीमा रिहा

  २०८० मंसिर १५ गते १६:२१     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको हो ।

त्यस्तै, उच्च अदालत पाटनले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको अदालतले जनाएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेको जनाइएको छ । जसले गर्दा खाँणको विषयलाई तेस्रो न्यायाधीशकोमा पेश गरिने अदालतले जनाएको छ ।

त्यस्तै, प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतले आदेश गरेको छ ।

उच्च अदालत पाटनले जारी गरेको आदेशको पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.