अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता, राष्ट्र बैंकका ४ दर्जन कर्मचारीको सरुवा

  २०८० मंसिर १४ गते १९:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक झण्डै ४ दर्जन कर्मचारीहरूको सरुवा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५ जना कार्यकारी निर्देशकसहित ४६ जना कर्मचारीहरूको सरुवा गरिएको सहायक सूचना अधिकारी डा.भागवत आचार्यले जानकारी दिए ।

गभर्नर अधिकारीले बुधबार कार्यकारी निर्देशक, उपनिर्देशक र सहायक निर्देशकको सरुवा गरेको आचार्यले बताए । आचार्यका अनुसार गैर-बैंक वित्तीय संस्था पर्यवेक्षण विभाग प्रमुख प्रदीपराज पौड्याललाई मुद्रा विभागमा सरुवा गरिएको हाे ।

सूचना प्रविधि विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरलाई गैर-बैंक वित्तीय संस्था पर्यवेक्षण विभागको जिम्मेवारी दिइएको उनले बताए ।

यस्तै, मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यलाई सूचना प्रविधि विभागमा सरुवा गरिएको उनको भनाइ छ ।

बैंकिङ्ग विभाग सम्हाल्ने गरी कार्यकारी निर्देशक बिश्रुत थापालाई जिम्मेवारी दिईएको छ । थापा यसअघि वित्तीय संस्था पर्यवेक्षण विभाग प्रमुख थिए । बैंकिङ विभाग प्रमुख दयाराम शर्मालाई भने वित्तीय संस्था सुपरिवेक्षणमा सरुवा गरिएको डा.आचार्य बताउँछन् ।

उनका अनुसार ठूलो संख्यामा उपनिर्देशक सहायक निर्देशकहरूको सरुवा गरिएको छ । राष्ट्र बैंकले २५ जना उप-निर्देशक र १६ जना सहायक निर्देशक गरी ४१ जनाको सरुवा गरेको बताइएकाे छ ।

अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता

बिहीबार राष्ट्र बैंकका गभर्नर अधिकारी र अर्थमन्त्री डा.प्रकाशशरण महतबीच वान टू वान भेटवार्ता भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्नुअघि अर्थमन्त्री डा.महतले गभर्नर अधिकारीसँग भेटवार्ता गरेका हुन् ।

दुवै जनाबीच वान टू वान भेटवार्ता भएको अर्थमन्त्री सचिवालयले जनाएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा छलफल भएको स्रोतको भनाइ छ । वित्त नीति र मौद्रिक नीतिको समन्वय गरेर समीक्षा गर्न अर्थमन्त्री डा.महतले आग्रह गरेका थिए ।

अप्ठ्यारामा परेका व्यवसायलाई सहजिकरण गर्ने विषयमा पनि छलफल भएको बुझिएको छ ।

‘मौद्रिक नीति प्रभावकारी बनाउने, अप्ठ्यारामा परेको निजी क्षेत्रलाई सहजिकरण गर्न र अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीतिको समीक्षा गर्न गभर्नरज्यूसँग छलफल भएको हो,’ अर्थमन्त्री सचिवालयले भन्यो ।

अर्थमन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन ब्याजदर घटाउने गरी व्यवस्था गर्न गभर्नरसमक्ष आग्रह गरेका छन् । साथै, गभर्नर अधिकारीले भेटवार्ताको क्रममा अर्थमन्त्री डा.महतलाई आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.