प्रदेश खारेजीको एजेण्डामा उभियो रास्वपा, धर्मनिरपेक्षतामा मौन

  २०८० मंसिर १४ गते १३:२३     विकासन्युज

फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको वर्तमान संघीय संरचना अन्तर्गत रहेको प्रदेश तहको संरचनाको विकल्पमा सोच्नुपर्ने राजनीतिक प्रतिवेदन पारित गरेको छ । महोत्तरीमा पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वर्तमान प्रदेश संरचनाले कहिँ नलैजाने भन्दै ढिलाई नगरी विकल्प सोच्नुपर्ने प्रस्ताव पारित गरेको हो ।

‘अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजादैन। त्यसमाथि यो भ्रष्ट्राचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेको छ। यसको विकल्प सोच्न एकछिन पनि ढिला गर्नु हुन्न’, रास्वपाको प्रतिवेदनमा जोड दिएर उल्लेख गरिएको छ ।

पार्टी अध्यक्ष रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रदेश खारेज गर्ने विषयलाई विशेष जोड दिएपनि व्यवस्था भित्रै अवस्था परिवर्तन गर्ने भनेर विरोधाभाष व्याख्या पनि गरिएको छ । आमजनताको दुःखको मूलकारण गरिबी, अशिक्षा, विभेद, भ्रष्टाचार भएको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचनमा देखिएको चितवनको जनसमर्थन र उभारलाई रास्वपाले ‘क्रान्ति’को नयाँ मोडेलको रुपमा परिभाषित गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाले पाएको मतका आधारमा वर्तमान निर्वाचन प्रणाली भित्रबाटै पनि दुई तिहाइ ल्याउन सम्भव भएको रास्वपाले प्रतिवेदनमा औंल्याएको छ ।

‘चितवनले राजनीतिमा नवीन परिवर्तनको बाटो देखाइदियो। त्यसको सन्देश देशव्यापी हुँदा पार्टी स्थापनाको करिब ६ महिनामै हामी मुलुकको चौथो राजनीतिक शक्ति भयौं। हामीले विश्वास र अभ्यास गर्ने चितवन मोडेलको आन्दोलन हो। र, चितवनले स्थापित गरेको ‘निलोक्रान्ति’को मोडेल देशव्यापी बनाउने चुनौतीमै निहित हुनेछ हाम्रो आउँदो यात्रा’, रास्वपाले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

रास्वपा विचारविहिन भएको आरोपहरुको खण्डन गर्दै रास्वपा परिस्कृत दस्तावेज निर्माणको प्रकृयामा नै रहेको बताइएको छ । ‘विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पण, भ्रष्ट्राचारप्रति शून्यसहनशीलता, प्रत्यक्ष सहभागितामूलक समावेशी लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारसहित सम्पूर्ण क्षेत्रमा हाम्रा नीति, विचार र दृष्टिकोण स्पष्ट छन्। हामी यसलाई अझै परिष्कृत गर्दै दस्तावेजीकरण गर्ने प्रक्रियामाछौं’, रास्वपाको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रास्वपाले बुधबार पारित गरेको विधानको प्रस्तावनामा ‘पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली’मा विश्वास गर्ने विषय उल्लेख गर्दै संघीयता शब्द उल्लेख गरेको छैन । त्यस्तै विधानको प्रस्तावनामा नै ‘नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व’ रहेको भन्दै धर्मनिरपेक्षताको विषयमा भने मौनता प्रकट गरेको छ ।

रास्वपाको राजनीतिक प्रतिवेदनको पूर्ण पाठ

One comment on "प्रदेश खारेजीको एजेण्डामा उभियो रास्वपा, धर्मनिरपेक्षतामा मौन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.