बागमती नगरपालिकाले १ अर्ब लगानीमा पार्कसहितको रिसोर्ट बनाउँदै

  २०८० मंसिर १४ गते १२:००     विकासन्युज

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–११ मा बन्दै गरेको ‘बागमती म्युनिसिपल पार्क एण्ड रिसोर्ट’ को काम अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन उक्त रिसोर्टको काम अन्तिम चरणमा पुगेसँगै अर्को वर्ष (२०८१) बाट सञ्चालन तयारी थालेको हो ।

बागमती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेलले आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र आन्तरिक तथा वाह्य पर्यटन भित्त्र्याउनुका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नगरपालिकाले उक्त रिसोर्ट निर्माण गरेको हो ।

नगर विकास कोषसँग सहकार्य गरी बागमती नगरपालिकाले अगाडि बढाएको उक्त आयोजनाले नगरको आर्थिक वृद्धिमा मदत पुर्याउने विश्वास लिइएको छ । ‘यो करिब १ अर्ब रुपैयाँको प्रोजेक्ट हो,’ उनले भने, ‘तर नगरपालिकाले ठेकेदार कम्पनीलाई फेजवाइज ठेक्का लगाएको छ । दोस्रो फोजसम्मको ठेक्का भइसकेको छ । १ अर्ब रुपैयाँ सबै खर्च भने हुँदैन ।’

पोखरेलले पार्क बनाउँदा सबै रकम एकैपटक खर्च नहुने बताउँदै अहिले महत्त्वपूर्ण काम सकेर पार्कबाट आम्दानी हुन थालेपछि थप कामहरू गर्दै जाने बताए । उनका अनुसार पार्क र रिसोर्ट निर्माण गर्दा अहिले करिब ५० करोड रुपैयाँ खर्च भइसकेको छ ।

ठेकेदार कम्पनी धुलिखेल–जेवीले उक्त पार्क र रिसोर्टको ठेक्का पाएपश्चात् आर्थिक वर्ष २०७८/७९ बाट उक्त रिसोर्ट निर्माण कार्य सुरु भएको थियो । करिब ७ रोपनी क्षेत्रफलमा पार्क र रिसोर्टको काम भइरहेको पनि पोखरेलले बताए ।

धुलिखेल–जेवी कम्पनीका इन्जिनियर रविन रेग्मीले पार्क र रिसोर्ट निर्माणको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको बताए । उनका अनुसार फिनिसिङको काम पनि तीव्ररूपमा गर्ने योजना छ । उक्त पार्क र रिसोर्टको काम सक्दा करिब ६० देखि ७० करोड रुपैयाँ खर्च हुने रेग्मीले जानकारी दिए ।

के–के छन् सुविधा ?

आधुनिक डिजाइनबाट बनाउन खोजिएको ‘बागमती म्युनिसिपल पार्क एण्ड रिसोर्ट’ बागमती नगरपालिकाको गौरवको आयोजना हो । यो आयोजना बनिसकेपछि नगरभित्र पर्यटक आगमन बढ्ने र नगरको आन्तरिक आम्दानीमा वृद्धि हुने बताइएको छ । साथै, पार्क र रिसोर्टभित्र धेरै रोजगारी पाउने पनि नगरपालिकाले बताएको छ ।

नगरको वडा नम्बर ११ मा बनिरहेको यो रिसोर्ट र पार्क बागमती खोला नजिकै छ । खोला नजिकै भएकाले सोही ठाउँबाट बोटिङ गर्न पनि सकिने छ । उक्त एरियाभित्र केटाकेटी खेल्ने ठाउँ, हल, फोटोबुथ, रिसोर्ट, स्विमिङ पुल, पार्किङका साथै विभिन्न किसिमका पसल पनि हुनेछन् । रेग्मीका अनुसार रिसोर्ट ४० जना मान्छे बस्न सक्ने क्षमताको हुनेछ । आकर्षक पार्क साथै सेवा सुविधाले भरिपूर्ण यो पार्क धेरैको केन्द्रमा पर्ने नगरको विश्वास छ ।

पार्कबाट नगरको ७ करोड आम्दानी

‘बागमती म्युनिसिपल पार्क एण्ड रिसोर्ट’ एक वर्षपछि सञ्चालनमा आउँदै छ । सञ्चालनमा आएपछि पार्कभित्र नगरले प्रवेश शुल्क पनि निर्धारण गर्नेछ । रिसोर्टमा पर्यटन बस्ने साथै र्याफटिङ गर्नेहरू आउने भएकाले पार्क र रिसोर्टबाट आम्दानी हुनेछ । उक्त पार्क र रिसोर्ट सञ्चालन भएपछि वाषिर्क ७ करोड रुपैयाँ नगरलाई आम्दानी हुने अधिकृत पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.