काठमाडौं । होटल, क्यासिनो तथा रेष्टुरेन्टका मजदुरहरूले आफ्नाे न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पनि सरकारले आफूहरूलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाई गर्न नहुने उनीहरूको भनाइ छ । बुधबार नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनले काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लक्ष्मण तिवारीले आफूहरूलाई सरकारको तोकेको न्यूनतम मासिक पारिश्रमिक अब पनि कार्यान्वयनमा नआएमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
उनले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सेवा गरेबापत उपलब्ध हुँदै आएको १० प्रतिशत शुल्क कटौति गरिएकोमा आपत्ति जनाउँदै त्यसलाई खारेज गर्न पनि सरकारलाई दबाब दिए ।
अध्यक्ष तिवारीले भने, ‘यो पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरूले आफूले सेवा गरेबापत पाउने सुविधा गुमेको छ । खोसिएको छ । र, हाम्रा अधिकारहरू खोसिने क्रम बढदो छ । त्यो अधिकार प्राप्त गर्नका निम्ति हामी हाम्रो संगठनमा आवद्ध हुन सबै श्रमिकहरूलाई आह्वान पनि गर्दछौं । लाखौंको संख्या यस क्षेत्रमा कार्यरत मजदुर यो सुविधाबाट वञ्चित हुनुभएको छ । सामाजिक सुरक्षा योजनामा नगई सुखै छैन । नेपालको कानुन मान्नुपर्छ, हामी मान्छौं । तर, देशभर आन्दोलन सुरु गर्नेछौं । तर, न्युनतम वेतन कार्यान्वयन गर्नैपर्छ । हाम्रो मुल एजेण्डा यही नै रहनेछ ।’
एमाले निकट मजदुर संगठन जिफन्टमा आबद्ध उक्त युनियनले योजदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबै मजदुरहरूलाई सूचिकृत गराउने काममा पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । युनियनका अध्यक्ष तिवारीले सरकारले आफूहरूलाई तोकिदिएको न्यूनतम मासिक पारिश्रमिक १७ हजार ३ सय कार्यान्वयन गरेर मात्रै सामाजिक सुरक्षा योजनामा आबद्ध हुन सकिने पनि स्पष्ट पारे ।