२०८० मंसिर १३ गते १४:४४ विकासन्युज
काठमाडौं । अब कालोसूचीमा रहेकाले पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन गर्दै कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्न कालोसूचीमा परेकाले खाता खोल्न पाउने बताएको हो ।
राष्ट्र बैंकका अनुसार कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न पाउने छैनन् । तर, कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाइ ९० दिनको समय प्रदान गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.