भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै, एक लाखले अवलोकन गर्ने अपेक्षा

  २०८० मंसिर १२ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३’ को आयोजना गर्ने भएको हो । नवौं संस्करणको सो मेला नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको हो ।

महासंघका अनुसार मेला मंसिर १४ गतेदेखि सञ्चालन भई १८ गतेसम्म चल्ने छ । उक्त मेलाका लागि अधिकांश स्टल बुकिङ भैसकेको महासंघले बताएको छ ।

मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहने छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहने बताइएको छ ।

मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरू रहने छन् । २१० वटा स्टलहरू मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।

सभामुख देवराज घिमिरे प्रमुख आतिथ्यतामा आयोजना हुने सो मेला नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना हुँदै आएको छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए । उनका अनुसार मेलाले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि मदत पुर्याउने छ ।

सो अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डल बीच छलफल एवं बिजनेस मार्केटिङ कार्यक्रम समेत राखिएको छ । उक्त छलफल कार्यक्रममा कृषि, जडीबुटी, औषधी, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुने महासंघको भनाई छ ।

महासंघले मेला अवधिभर एक लाखले अवलोकन गर्ने अपेक्षा गरेको छ । मेलामा १० देखि १२ करोड रुपैयाँसम्मको कारोबार हुने बताइएको छ । आइएमइ पे फोनमा डाउनलोड गर्नेहरूका लागि प्रवेश निःशुल्क छ भने नगरी प्रवेश गर्नेहरूलाई ५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.