सुर्य नेपाल सेन्ट्रल ओपन सम्पन्न, एमरच्योर सदभावलाई करियरको दोस्रो उपाधि

  २०८० मंसिर ७ गते १७:२६     विकासन्युज

काठमाडौ । युवा एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन । सदभाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन। यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए ।

अन्तिम दिन आज ३-अन्डर ६९ स्कोर गर्दा सदभावले समग्रमा १७-अन्डर २ सय ७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिँदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन । इभन-पार ७२ खेल्दै समग्रमा १०(अन्डर २ सय ७८ सहित दिनेश प्रजापति दोस्रो भए। प्रोफेसनलतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गरे ।

समग्रमा ७/अन्डर २ सय ८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए । उनले आज इभन-पार ७२ मा खेल सकाए। प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले नगद ९४ हजार नगद पुरस्कार हात पारे। आज २-ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन(पार २ सय ८८ प्रदर्शनमा चौथो भए । प्रोफेसनलतर्फ तेस्रो भएका उनलाई ७० हजार प्रदान गरियो । समग्रमा २-ओभर २ सय ९० को स्कोरमा निरज तामाङ पाँचौ भए। उनले अन्तिम १८ होलको खेल इभन-पार ७२ मा सकाए र ५८ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाए ।

पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए । आज ३-ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३-ओभर २ सय ९१ को नतिजामा प्रतियोगिता सकाए । समग्रमा उनी छैटौं भए। समग्रमा ४-ओभर २ सय ९२ सहित रबि खड्का सातौं भए । उनले आज इभन-पार ७२ मा खेल सकाए। उनले ५० हजार प्राप्त गरे। आज ७-ओभर ७९ सहित समग्रमा ५-ओभर २ सय ९३ मा खेल सकाउँदै जयराम श्रेष्ठ आठौं भए । उनले ४२ हजार ५ सय पुरस्कार राशी हात पारे। समग्रमा ६-ओभर २ सय ९४ सहित धन बहादुर थापा र तोरण विक्रम शाही संयुक्तरुपमा नवौं भए । धनले आज ६-ओभर ७८ र तोरणले ३-अन्डर ६९ स्कोर गरे। दुवैले ३७ हजार २ सय ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

अन्तिम १८ होलको सुरूवात गर्दा आज सदभावसँग ४ स्ट्रोकको अग्रता थियो । सदभावले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गरे भने तेस्रो होलमा बर्डी प्रहार गरे । दिनेशले भने पहिलो दुई होलमा पार बचाउँदा ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गर्दा सदभावको अग्रता मात्र १ स्ट्रोकमा झरिसकेको थियो । तर यसपछि सदभावले तेस्रो, चौथो र छैटौं होलमा बर्डी प्रहार गरे र फ्रन्ट नाइनको खेल सकिदा ७ स्ट्रोकको अग्रता बनाइसकेका थिए । दिनेशले भने तेस्रो होलमा इगल प्रहार गरेपनि चौथो, छैटौं, आठौं र नवौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३८ मा सकाए ।

यसपछि ब्याक नाइनमा सदभावले दशौं देखि तेह्रौं होलमा लगातार बर्डी प्रहार गर्दा उपाधि जित्ने संभावनालाई लगभग सुनिश्चित गरे । अन्य गल्फरले चुनौती समेत दिन सकेनन । यसपछि १४औं र १६औं होलमा बोगी खेपे पनि ब्याक नाइन २-अन्डर ३४ मा पुरा गर्दै करियरको दोस्रो प्रोफेसनल उपाधिको हकदार बने । दिनेशले १४औं होलमा एक सट खेर फाले भने १०औं, ११औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अण्डर ३४मा सकाए ।

भुवनले इभन-पार ७२ मा खेल सकाउने क्रममा फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए । दोस्रो होलमा बोगी प्रहार गर्दा तेस्रो र सातौं होलमा एक-एक सट बचाए । छैटौं होलमा भने डबल बोगीको सामना गरे । यसपछि १५औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी हान्दै १(अन्डर ३५ मा ब्याक नाइन सकाए । सञ्जयले दोस्रो, सातौं र आठौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन ३-ओभर ३९ मा सकाए । १८औ होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको थियो । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.