विजयको विजययात्रा, लाखबाट अर्बपति

  २०८० मंसिर ७ गते १४:३१     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को आय विवरणअनुसार व्यक्तितर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति विजयबहादुर शाह बनेका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीजका अध्यक्ष तथा मदिरा उद्यमी हुन् । उनी केही वर्षदेखि निरन्तर सबैभन्दा बढी कर बुझाउने व्यक्तितर्फको सूचीमा पर्दै आएका छन् । बिहीबार आयोजित कार्यक्रमामा अर्थमन्त्री डा. प्रकाशशरण महतले शाहलाई सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरे ।

व्यक्तिगततर्फ सर्वाधिक कर तिरेर पहिलो पटक बैंकर्स पृथ्वीबहादुर पाँडे सरकारबाट सम्मानित भएका थिए । त्यसपछि धेरै वर्षसम्म व्यवसायी सिद्धार्थ समशेर जवरा सम्मानित भए । सर्वाधिक आयकर तिरेर शाहले तेस्रोपटक सरकारबाट सम्मानित हुने अवसर पाएका छन् । यसअघि एकपटक उनकै छोरी जया शाह पनि व्यक्तिगततर्फ उत्कृष्ट करदाताको रूपमा सम्मानित भएकी थिइन् ।

लाखबाट अर्बपति

शाह सन् १९४८ मा नेपालगन्जमा जन्मिएका थिए । नेपालगन्जमा जन्मिए पनि ललितपुर जावलाखेल शाहको पुर्ख्यौली घर हो । उनको परिवारले सन् १९५० को दशकमै परम्परागत तरिकाले स्थानीय मदिरा उत्पादन गरी बिक्री गर्दै आएको थियो । जब १९६९ मा शाह अमेरिकाबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेर नेपाल फर्किए, उनले मदिरा उत्पादनमा आधुनिक प्रविधि प्रयोग गरेर व्यापार गर्नुपर्छ भन्ने सोचलाई मूर्तरूप दिए ।

उनले आधुनिक प्रविधियुक्त नयाँ डिष्टिलरी खोल्न आफ्ना बुबा रामनारायण शाहसँग ३० लाख रुपैयाँ जुटाइदिन आग्रह गरे । उनका बुबाले छोराको आग्रह स्वीकार्दै रकम जोहो गरिदिए । त्यही बीउ पुँजी र २० जना कामदारबाट सन् १९७० मा सुरु भएको जावलाखेल डिष्टिलरी आज अर्बौं मूल्यको भएको छ भने हजारौंले काम पाएका छन् । साथै, २२ वर्षको उमेरमा सुरु गरेको उनको कम्पनीले ५ दशक व्यावसायिक जगतमा पृथक पदचाप सिर्जना गरेको छ ।

जावलाखेल डिष्टिलरी नेपाली निजी लगानीमा सुरु भएको पहिलो डिष्टिलरी हो । त्यसबेला उनको कम्पनीले ह्विस्की र रम उत्पादन गथ्र्यो । सन् १९७३ मा जावलाखेल डिष्टिलरीले नेपालमै पहिलोपटक भोड्का उत्पादन सुरु गरेको थियो, जसको नाम हो- रुस्लान भोड्का । जुन आज पनि मदिरा पारखीको रोजाइमा पर्ने गर्छ ।

शाह यो क्षेत्र प्रवेश गर्नुअघि भैरहवामा बेलायतको चर्चित कम्पनी स्नोल्याण्डको लगानीमा भैरहवा डिष्टिलरी सञ्चालनमा थियो । त्यसले जिन, ह्विस्की र रम उत्पादन गरिरहेको थियो । त्यसबेला काठमाडौंमा तीन वटा डिष्टिलरी थिए । मदिरा बजारको आकार पनि सानो थियो । अहिले दर्जनौ ठूलो मदिरा उद्योग छन् । त्यसमा पनि जावलाखेल डिष्टिलरीका उत्पादनले कुल बजारको सबैभन्दा ठूलो हिस्सा लिएको छ । ‘जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज’ बढी कर तिर्ने संस्थाका रूपमा मात्रै नभई नेपालको व्यावसायिक क्षेत्रमा आफ्नो छुट्टै नाम र पहिचान बनाउन सफल संस्था हो । र, यस संस्थाका संस्थापक ७५ वर्षीय शाह अहिले पनि मदिराको क्षेत्रमा थप राम्रो कसरी गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धानमा जुटिरहेका हुन्छन् । उनलाई छोरा राजबहादुर शाहले साथ दिएका छन् । प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको व्यवस्थापकीय नेतृत्व लिएपछि कम्पनीको नाफा उच्च त भएको छ नै कम्पनीका संस्थापक विजय शाहलाई उच्च करदाता अवार्डको विजयी यात्राले पनि निरन्तरता पाएको छ ।

मदिरा आधुनिकरणको जग

सन् १९५० को दशकअघि देशमा डिस्टिल गरी उत्पादित मदिरा सिलप्याक गरेर बेच्ने उद्योग थिएनन् । त्यसबेला नेपालमा मदिरा कारोबार ठेक्का प्रणालीमार्फत हुन्थ्यो । सरकारले तराई र सहरी क्षेत्रमा पाँच वर्षका लागि बोलकबोल गरी मदिराको ठेक्का लगाउँथ्यो । पहाडमा मदिराको ठेक्का सकार्ने कोही हुन्थेन । क्षेत्र तोकेर मदिराको ठेक्का आह्वान गरिन्थ्यो । बडाहाकिमसमक्ष डाक बडाबड हुन्थ्यो । बोलकबोलका क्रममा बडाहाकिमले जसको बोलीपछि टेबुल ठटाउँथे, ठेक्का उसैले पाउँथ्यो । नगदै धरौटी राखेर ठेक्का पाएको क्षेत्रमा ठेकेदारले मदिरा उत्पादन गरी बिक्री वितरण गर्थे । पुर्ख्यौली पेसा, भट्टीलाई डिष्टिलरीमा रूपान्तरण गर्न तथा राजामहाराजाले चलाएको देशमा निजी लगानीमा त्यसरी संस्था चलाउने साहस आफूले गरेको शाहले बताएका छन् ।

हाल जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गत हिमालयन डिष्टिलरी, एसियन डिष्टिलरी, विजय डिष्टिलरी, रोलिङ रिभर डिष्टिलरीलगायत करिब दर्जन कम्पनी सञ्चालनमा छन् । ती कम्पनीमार्फत रुस्लान भोड्का, रोयल स्ट्याग ह्विस्की, ब्लु डाइमण्ड जिन, गोल्डेन ओक ह्विस्कीलगायत १८ किसिमका मदिरा उत्पादन भइरहेका छन् । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले प्रवद्र्धन गरेको हिमालयन डिष्टिलरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.