‘४५ ठाउँमा जग्गा र १८ वटा घर छन्, बेचेर बचत फिर्ता गर्छु’

  २०८० मंसिर ५ गते १८:५१     विकासन्युज

काठमाडौं । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । सहकारीका बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम लिई फरार रहेका उनी एउटा भीडीयो सन्देश दिँदै सम्पर्कमा आएका हुन् ।

उनले आफू घरमा बस्ने वातावरण नभएपछि घर छोड्न बाध्य भएको बताएका छन् । उनल अब आफ्नो सम्पत्ति बिक्री गरेर बचतकर्ताको पैसा फिर्ता गर्ने पनि भीडीयो सन्देशमार्फत जानकारी गराएका छन् ।

यस्तो छ उनको धारणा :

इमेज बचत तथा ऋण सहकारी संस्थाको विषयमा केही सम्बोधन गर्न चाहन्छु । सम्पूर्ण बचतकर्ता साथीहरूलाई मैले सहकारीको समस्या परेपछि सबै सेयर सदस्य तथा सबै बचतकर्ता साथीहरूको विशेष भेला राखी बचतकर्ताको बचत फिर्ता गर्न ६ महिनाको समय अवधि राखिएको थियो । तर, केही साथीहरू मेरो घरमा हतियारसहित आएर म लगायत मेरो श्रीमती र मेरो छोरीको ज्यान मार्ने धम्कीसमेत दिने र ६ लाख बचत भएको व्यक्तिहरूले ५ करोडको घर जग्गा मेरो नाममा पास गरिदिन भनेर दबाब दिएको कारण म केही समय घर बाहिर बस्न बाध्य भएँ ।

मैले सबै बचतकर्तालाई अनुरोध गर्दछु कि इमेज सहकारीको समस्या मात्र नभई यो समस्या नेपालकै सबै सहकारीको समस्या हो । किनकी मैले संस्थापक अध्यक्षको हैसियतले वक्तव्य निकालेको पनि सबैलाई जानकारी नै छ । बचतकर्ता साथीहरूलाई रकम फिर्ता गर्न ढिलाइ भएकोमा सबै बचतकर्ता शुभचिन्तकहरूमा संस्थाको तर्फबाट क्षमा माग्दछु । म त्यहाँ नभएको कारणले धेरै टिकाटिप्पणी आएका छन्, मैले बुझेको छु । हामीहरू इमेज सहकारीको समस्या व्यवहारिक तरिकाले समाधान गर्नेतिर जानुपर्छ र जान खोजेका पनि छौं । कतिपय १६ अर्बको सहकारी पनि समस्यामा परेका छन् । मैले भन्नुभन्दा सबैलाई थाहा भएको कुरा हो । हामी घरजग्गा, सम्पत्ति नभएको मान्छे होइनौं । हामीले चल–अचल सम्पत्ति नुनदेखि सुनसम्म त्यहाँ नै राखिछोडेका छौं ।

हामी केही पनि लिएर हिँडेका छैनौं । यस विषयमा सबै शुभचिन्तकलाई जानकारी गराउँछौं । सहकारी राम्रो बनाउने र बिगार्नेमा कर्मचारीको पनि हात हुन्छ । म विगत ७ वर्षदेखि ढोरपाटन नगरपालिका प्रमुखको जिम्मेवार भएर बुर्तिबाङमा बस्ने भएकाले सहकारीमा समय दिन नसकेको कारण र मैले समस्या भएको हो यसबारेमा सबैलाई जानकारी छ । एकैचोटी बचत फिर्ता लिन जाने हो भने बैंकहरूमा पनि समस्या हुन्छ, यो पनि सबैले बुझेकै हो । मलाई असफल पार्नको निम्ति अलिकति राजनीतिक विषय पनि जोडिएको छ ।

यस विषयमा अहिले म बोल्न चाहन्नँ । इमेज सहकारीको समस्या समाधान गर्नको लागि संघर्ष समितिमा रहनुभएका साथीहरूलाई मैले ह्रृदयदेखि धन्यवाद दिन चाहन्छु । तपाईंहरू पनि सहकारीको समस्या समाधानको लागि धेरै दुःख पाउनुभएको छ, मैले राम्ररी बुझेको छु । बचतकर्ता साथीहरूले खातामा १० हजार हुनेहरूले १० लाखको निवेदन पनि गरेका छन् । कतिपय ५० लाख फिक्समा भएकाले ९० प्रतिशत कर्जा फिर्ता लगेका छन् । तर, ५० लाखकै दाबी निवेदन गरेका छन् । यसैकारण इमेजमा २ अर्ब निक्षेप भएको हल्ला भएको छ, यो सत्य छैन । त्यसमा समितिका साथीहरूले बुझ्न जरूरी छ । कतिपय इमेजबाट ऋण लगेका साथीहरूले ऋण लगेको छैन भनि अटेर गरेको अवस्था पनि छ ।

संस्थाका कतिपय कर्मचारीले मोनोपोली तरिकाले कर्जा लगानी गरी हामीमाथि दोष लगाइएको अवस्था पनि छ । म के भन्न चाहन्छु भने संस्थाका सेयर सदस्य, बचतकर्ता साथीहरूलाई मैले सहकारीको समस्याको समाधान तथा हिसाब मिलानको लागि मेरो सम्पत्ति बेचेर भएपनि ६ महिनाको समयमा हिसाब मिलान समय मागेको थिएँ । यो विषयमा सबैलाई अवगत छ । तर, ६ महिनामा हिसाब मिलान हुन सकेन । किनकी हिसाब मिलान हुन नसकेको विषयमा जानकारी गराउन चाहन्छु की केही साथीहरू ६ महिनासम्म बचत फिर्ता लिन पर्खन सक्नुभएन र घरमा आई डर धम्की समेत गर्नुभयो । त्यसकारण घरमा बस्ने वातावरण भएन । अर्को कुरा, केही साथीहरूको अगुवाइमा मुद्दा दर्ता गर्ने काम पनि भयो । त्यसकारण म बाहिर निस्केर काम गर्ने अवस्था भएन । त्यसैले ६ महिनाभित्र हाम्रो सम्पत्ति, घरजग्गाहरू बिक्री वितरण गर्ने वातावरण नभएको सबैलाई जानकारी गराउन चाहन्छु ।

मेरो र मेरो श्रीमतिको नाममा भएको बुर्तिबाङ बाग्लुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ता जग्गा मध्ये बुर्तिबाङमा ७ वटा घर, बाग्लुङमा २ वटा घर, पोखरामा ३ वटा घर र काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर छन् । ४५ कित्तामा भएको जग्गामध्ये घरहरुको फोटा समेत सार्वजनिक गरेको छु । तर, यी सम्पत्तिहरु इमेजको पैसाले जोडेको भन्ने नसोच्नु होला, हामी आफैंले कमाएको सम्पत्ति हो । तर, यो सम्पत्ति करिब ३ अर्ब भन्दा बढीको सम्पत्ति हो भन्ने कुरा सबैलाई जानकारी गराउन चाहन्छु ।

तर, सहकारीको समस्या बचतकर्ताहरूको समस्या समाधानको लागि सम्पूर्ण बचतकर्ताहरुको नाममा मेरो र मेरो श्रीमतिको नाममा भएको घरजग्गा विभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहन्छु । हस्तान्तरण गर्नको लागि वातावरण मिलाइदिन कानूनी निकाय, राजनीतिक दल, नागरिक समाज, पत्रकार र विभिन्न सरोकारवालाज्यूहरूलाई अनुरोध गर्दछु । अन्त्यमा, ढोरपाटनका आमाबुवा दाजुभाई दिदीबहिनीहरूलाई तपाईंहरूको अमूल्य भोटको कदर गर्दै सेवाको लागि छिट्टै तपाईंको बीचमा आउनेछु, धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.