सिमकोट विमानस्थल विस्तार हुने

  २०८० मंसिर ५ गते ९:५६     विकासन्युज

हुम्ला । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमकोट विमानस्थललाई यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ । विमानस्थलको लम्बाइ कम रहेका कारण त्यसको लम्बाइ बढाउन लागिएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले यस वर्ष विमानस्थलको लम्बाइ १५० मिटर अगाडि विस्तार गरिने बताए । विमानस्थलको पश्चिमतर्फको रानीवन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो । उनले यसका लागि जग्गाको नापजाँच गर्ने कार्य पूरा भइसकेको र अब मुआब्जा वितरण कार्य अगाडि बढाइने बताए ।

जग्गा विस्तार गर्न लागिएको स्थानमा रहेका १० वटा घरसमेत विमानस्थल विस्तारका व्रmममा जाने छन् । जग्गा अधिग्रहणका लागि प्राधिकरणले करिब छ करोड रुपियाँ बजेटसमेत व्यवस्था गरेको छ ।

हाल ५० मिटर विमानस्थल क्षेत्रभित्रको जग्गा बाँकी रहेको र त्योसहित अब विमानस्थलको लम्बाइ दुई सय मिटर बढ्ने छ । हालको विमानस्थलको रनवे साढे छ सय मिटर लम्बाइ रहेको छ । त्यसपछि भने सिमकोट विमानस्थल साढे आठ सय मिटर लामो हुने छ । विमानस्थलको दुरी छोटो भएका कारण तारा, सीता, समिट र नेपाल एयरलाइन्सका साना जहाज मात्र सञ्चालनमा रहेका छन् ।

विमानस्थल विस्तारपछि ४५ सिटे जहाज अवतरण गर्न सक्ने र जसबाट यात्रुलाई समेत सहज हुने अपेक्षा गरिएको छ । सिमकोट विमानस्थल दोस्रो पटक विस्तार गर्न लागिएको हो । गाेरखापत्रबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.