दक्षिण कोरियाले उपलब्ध गरायो ५ करोडको स्वास्थ्य सामग्री

  २०८० मंसिर ४ गते १७:१२     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य सामग्रीले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

ती बहुउपयोगी सामग्री सोमबार नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे । स्वास्थ्य सामग्रीको मूल्य पाँच करोड ३५ लाख ३२ हजार ५ सय रुपैयाँबराबर छ ।

ती बहुउपयोगी सामग्री सोमबार नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे । स्वास्थ्य सामग्रीको मूल्य पाँच करोड ३५ लाख ३२ हजार ५ सय रुपैयाँबराबर छ ।

विशेष गरी नेपालभरका प्रदेश तथा जिल्ला तहमा उन्नत चिकित्सा उपकरणहरूको आवश्यकतालाई उक्त बहुउपयोगी स्वास्थ्य सामाग्रीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको दूतावासले जनाएको छ ।

दूतावासद्वारा आज जारी विज्ञप्तिमा पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्य जाँच उपकरणले प्राथमिक स्वास्थ्य परीक्षण, कलेजो, मृगौला र प्यान्क्रियाजसहित महत्वपूर्ण अंगहरूको स्वास्थ्य अवस्था परीक्षणमा उपयोगी हुने उल्लेख छ ।

यस डायग्नोस्टिक उपकरणले सिरम, प्लाज्मा र पिसाबजस्ता बायोकेमिस्ट्री नमुनाहरूको सही विश्लेषण गर्नेछ र रोगको निदानका लागि उपचारमा महत्वपूर्ण भूमिका कोरिया सरकारको यस सहयोगले स्थानीय स्तरमा रहेका अस्पतालहरूलाई प्राथमिक चरणमा नै रोगको सही पहिचान र उपचारका लागि सहज बनाउनेछ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सचिव पोखरेलले यस किसिमको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षण तथा स्वास्थ्य अधिकारीहरूलाई सुदृढ बनाउन सकारात्मक प्रभाव पार्नेमा जोड दिए । उनले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता विस्तारमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे ।

राजदूत पार्कले कोरियाली सरकारको यस्ता किसिमका सहयोगले नेपाललाई एक स्थिर विकासका लागि सधैं समर्थन रहने बताए ।

दक्षिण कोरियाले नेपाललाई १५ वर्षदेखि लगातार विकास साझेदारी प्राथमिक राष्ट्रको सूचीमा समावेश गरेर विभिन्न विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । विकास साझेदारीका प्रमुख क्षेत्रहरुमा स्वास्थ्य, सरसफाइ, कृषि, खानेपानी, शिक्षा, ग्रामीण विकास तथा ऊर्जा क्षेत्र रहेका छन् ।

कोरिया सरकारले कोइकामार्फत सन् १९९१ देखि नेपाललाई १८८.६ मिलियन अमेरिकी डलर (२५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहयोग उपलब्ध गराइसकेको छ । हालसम्म मुगु, नुवाकोट र टीकापुर अस्पताल स्थापना भएर सञ्चालनमा रहेको छ ।

त्यसैगरी कोरिया सरकारको सहयोगमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको कोरिया-नेपाल मैत्री अस्पतालको क्षमता वृद्धिका लागि दोस्रो चरणको कार्यक्रमअन्तर्गत १५० थप शय्याको अस्पताल निर्माण चरणमा छ ।

साथै, सन् २०१५ मा नेपालमा गएको महाभूकम्प र कोभिड १९ को महामारीलगायतका कठिन घडीमा पनि कोरियाले नेपाललाई सहयोग गरेको थियो । कोरियाले हालै कर्णालीमा गएको भूकम्पबाट प्रभावित नेपालीलाई ३ लाख अमेरिकी डलरबराबरको मानवीय सहायता पनि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी वर्ष सन् २०२४ मा कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा कोरियाले नेपालमा विभिन्न विकास साझेदारी कार्यक्रममार्फत दुई देशबीचको सम्वन्धलाई झनै मजबुत गर्ने जनाएको छ । दुई राष्ट्रबीच विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगका ढोका खुल्दै जाने र सकारात्मक सम्बन्धले उचाइ चुम्ने विश्वास गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.