यी हुन् ‘रियल टाइम’ जीडीपी उच्च भएका पाँच देश

  २०८० मंसिर ४ गते १७:१२     विकासन्युज

एजेन्सी । जब कोभिड–१९ महामारीले संसारभरि हमला गर्‍याे, तब विश्वको प्रगतिमा गम्भीर झट्का लाग्न पुग्यो । जसले संसारका सबै देशको विकास उल्टोपाल्टो हुन पुग्यो । सन् २०२१ मा बलियो सुधार देखिए पनि बढ्दो महँगी, ब्याजदर वृद्धि र ऋणका कारण २०२२ मा भारी समस्या देखिएको थियो । यिनै कारण विश्वभरि आर्थिक मन्दी चलिरहेको छ । यति हुँदा पनि केही देशले भने अर्थतन्त्रमा छलाङ नै मारेका छन् ।

यसैबीच संसारमा सबैभन्दा राम्रो अर्थतन्त्र भएका देशको ‘रियल टाइम’ सूची प्रकाशित भएको छ । उत्कृष्ट ३० अर्थतन्त्रमध्ये यहाँ पहिलोदेखि पाँचौं स्थानसम्म परेका देशबारे वर्णन गरिएको छ । ‘इन्साइडर मंकी’ नामक वेब पोर्टलले संसाभरिका देशको अर्थतन्त्रबारे तयार पारेको रियल टाइम सूचीले ती देशका कुल गार्हस्थ उत्पादन (जीडीपी) दरलाई मानक बनाएको छ ।

१. गुयना

दक्षिण अमेरिकाको एक सानो देश गुयनाले तेल उत्पादन परिमाणमा व्यापक विस्तार गरेका कारण सन् २०२२ मा ६३.४ प्रतिशतको उच्च जीडीपी दर हासिल गरेको छ । यो दर संसारकै सबैभन्दा धेरै रहेको रेकर्ड हो । आगामी पाँच वर्षभित्र गुयनाले यो दर बढाउँदै १ सय १५ प्रतिशत पुर्‍याउने अनुमान गरिएको छ ।

२. पनामा

दक्षिण अमेरिकाको मध्यभागमा पर्ने देश पनामाले लगानीकर्ताहरूलाई आकर्षित गर्न आफूलाई एक स्थिर अर्थतन्त्र भएको देशका रूपमा प्रस्तुत गर्दै आएको छ । गत वर्ष यसले ६ प्रतिशतको जीडीपी दर हासिल गरेको थियो । यो दर पछिल्लो दुई दशकयता ल्याटिन अमेरिककौ सबैभन्दा धेरै हो । तर, खानी विरोधी प्रदर्शनका कारण यसको अर्थतन्त्र प्रभावित हुन सक्छ ।

३. संयुक्त राज्य अमेरिका

अमेरिकाले चालू वर्ष २०२३ को तेस्रो त्रैमासिकमा अविश्वसनीय हिसाबमा ४.९ प्रतिशतको जीडीपी दर हासिल गरेको छ । संसारकै सबैभन्दा ठूलो र राम्रो अर्थतन्त्र भएको देश अमेरिकाबारे अर्को सकारात्मक खबर के छ भने केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर स्थिर राखेका कारण यो सम्भव भएको हो । तर, यो दर अझै पनि २२ वर्षदेखिकै उच्च हो ।

४. आइसल्याण्ड

उत्तर युरोपेली देश आइल्याण्डले गत वर्ष ४.५० प्रतिशतको जीडीपी दर हासिल गरेको छ । यसको अर्थतन्त्र युरोप महादेशमै सबैभन्दा तीव्र गतिले अगाडि बढिरहेको छ । पछिल्लो १५ वर्षयता यसले उल्लेखनीय सुधार हासिल गर्दै आएको छ । तर, २००८ को विश्वव्यापी आर्थिक मन्दीले आइसल्याण्डको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको थियो । त्यसयता यसको अर्थतन्त्र बिस्तारै ओरालो लाग्दै गयो र सार्वजनिक ऋणका सीमा उच्च तहमा पुगेको छ ।

५. बारबाडोस

क्यारेबियन देश बारबाडोसले २०२३ को नौ महिनामा ४.५० प्रतिशतको जीडीपी दर हासिल गरेको छ । यो दर २००६ यताकै सबैभन्दा धेरै हो । कोरोना महामारीबाट बाहिर आएपछि बारबाडोसको अर्थतन्त्र राम्रै लयमा फर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.