२०८० मंसिर ४ गते १६:४४ विकासन्युज
फाइल तस्बिर
काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लाका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार भूकम्प प्रभावित पाँच जिल्लाका लाभग्राहीहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापत उक्त रकम निकासा गरेको जनाएको हो ।
प्राधिकरणका अनुसार जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड रुपैयाँ निकासा भएको छ । सो रकम भूकम्प पीडित पहिचान गरी सम्बन्धित पालिकाले लाभग्राहीलाई उपलब्ध गराउनेछन् ।
आवासमा पूर्ण क्षति भएका भूकम्पपीडितहरुले पहिलो किस्ताको लागि ‘भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि, २०८०’ अनुसार निवेदन दिएपछि २५ हजार र अस्थायी आवास निर्माण भएपछि पुनः २५ हजार पाउने छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.