चितवनमा आन्तरिक पर्यटकको घुइँचो, नेपालीमा घुम्ने प्रवृत्तिको विकास

  २०८० मंसिर ४ गते १४:२६     विकासन्युज

 

चितवन । कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । नेपालीहरुमा घुम्ने चलन थिएन । नेपालीमा घुम्ने प्रवृत्तिको विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

शनिबार, सार्वजनिक बिदा र चाडपर्वको समयलाई हिजोआज नेपालीले भरपुर उपयोग गर्ने गरेका छन् । दसैँ, तिहार र छठ पर्वको समयमा प्रायः सबै पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिएका थिए । पर्वका अवसरमा धार्मिक पर्यटकीय स्थलसँगै प्राकृतिक सौन्दर्य स्थलमा पनि पर्यटकको उस्तै घुइँचो थियो ।

दसैँदेखि छठसम्म जिल्ला र वरपरका पर्यटकीय गन्तव्य आन्तरिक र बाह्य पर्यटकले भरिभराउ भएका थिए । मनकामना दर्शनका लागि गत शुक्रबार साँझ मन्दिर पुगेका धेरैले सुत्ने कोठा पाएनन् ।

मन्दिरको दर्शनका लागि पुगेका पत्रकार प्रकाशमणि ज्ञवालीका अनुसार मन्दिरका पेटी, होटलका बरण्डामा समेत कतिपयले रात बिताउनुपरेको थियो । होटल सञ्चालकले आफूले प्रयोग गर्ने कोठा पनि पाहुनालाई दिएको उनको भनाइ थियो । ज्ञवालीले त्यसरात मन्दिर क्षेत्रमा दुई हजारभन्दा बढी मानिसले मन्दिरका पेटी, होटलका वरण्डामा दुःखसुख गरेर रात बिताएको बताए ।

गत शनिबार १० हजार ५२ जनाले केबलकार यात्रा गरेकफ मनकामना दर्शन प्रालिका नायक महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि राति १० बजेसम्म केबलकार चलाउनुपरेको थियो । यसका अतिरिक्त गाडी, मोटरसाइकल र पैदल यात्रा गरेर पनि मनकामना दर्शनका लागि पर्यटक मन्दिर पुगेका उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहामा पनि तिहारको समयमा पर्यटकले कोठा पाउन नसकेका क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले बताए । उनका अनुसार गत बिहीबार र शुक्रबार कोठा पाउन नसकेर कतिपय आन्तरिक पर्यटक फर्किनुपरेको थियो । हात्ती, डुंगा र जिप चढ्न दसैँयता धेरैले समय नपाएको थपलियाको भनाइ थियो । निकुञ्ज प्रवेशका लागि टिकट लिन बिहान ४ बजेदेखि लाइन बस्नुपरेको उनले बताए ।

उनका अनुसार ५० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक छन् । यससँगै व्यवसायीमा उत्साह थपिएको उनले बताए ।

पश्चिम चितवनको पटिहानी र जगतपुर क्षेत्रका होटल पर्यटकले भरिएका छन् । होटल जंगल भिल्लाका सञ्चालक गणेश पौडेलका अनुसार अक्टुबरयता पर्यटक आगमन राम्रो छ । उनका अनुसार त्यसमा पनि चाडपर्वका समयमा आन्तरिक पर्यटक बढ्ने भएकाले होटल भरिने गरेका छन् ।

चाडपर्वसँगै मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन् । केबलकार सञ्चालनमा आएपछि मन्दिर दर्शनका लागि आउनेको संख्या विगतको भन्दा बढेको मौलाकालिका धार्मिक सेवा समितिका अध्यक्ष शालिग्राम सापकोटाले बताए ।

उनका अनुसार दसैँको समयमा दैनिक चार हजार भक्तजन मन्दिर पुगेका थिए । तिहारमा यो संख्या तीन हजार हाराहारी थियो । यो संख्या विगतको तुलनामा २५ प्रतिशत बढी भएको सापकोटाले जानकारी दिए ।

मौलाकाली केबलकार प्रालिका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार केबलकार सञ्चालनमा आएसँगै भक्तजनको संख्या बढेको हो । उनका अनुसार ज्येष्ठ र अशक्तसमेत केबलकार चढेर सहज रुपमा मन्दिर जाने गरेका छन् ।

दिउँसोको समयमा मन्दिर पुग्नेहरु अधिकांश केबलकारबाटै जाने गरेका पौडेलले बताए । अरुबेलाको तुलनामा चाडपर्वको समयमा यात्रु निकै बढेको उनको भनाइ थियो ।

चाडपर्वको समयमा लाग्ने मेला, जात्राले पनि पर्यटकीय चहलपहल बढाएको छ । नारायणी नदी किनारमा आइतबार छठ पर्वका लागि हजारौँको संख्यामा भक्तजनसँगै पूजा हेर्नेहरुको भिड लागेको थियो ।

तराई सामुदायिक सेवा समितिका सल्लाहकार राजकुमार गुप्ताले ३० हजारभन्दा बढीले छठ पर्व मनाउनुका साथै अवलोकन गरेको बताए ।

नारायणी नदी किनार व्यवस्थित बनेपछि छठको पूजा गर्ने र हेर्नेको घुइँचो लागेको थियो । छठका लागि नदी किनारलाई व्यवस्थित गरिएको जनाउँदै नदी किनार व्यवस्थित भएसँगै छठ मनाउन आउनेको संख्या निकै बढेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताइन् । आफूसमेत शुभकामना दिन आइतबार साँझ नदी किनार पुगेको भन्दै उनले नदी किनारको रौनकता यसअघिका वर्षमा भन्दा यस वर्ष बढेको बताइन् ।

विगत तीन वर्ष अघिसम्म छठ पर्वमा सामान्य मानिस आउने गरेकामा व्यवस्थित भएसँगै संख्या निकै बढेको दाहालको भनाइ थियो । पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रम सहयोगी हुने उनले बताइन् ।

चाडपर्व सुरु भएसँगै चौकीडाँडा, उपरदाङगढी, गोलाघाट, बीसहजार ताल, देवघाट, गणेशधामलगायतका यहाँका पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । मुख्य रुपमा बिदाको दिनमा पारिवारिक रुपमा घुम्न जानेको संख्या बढी हुने पर्यटन व्यवसायीको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.