२०८० मंसिर ४ गते १२:३४ विकासन्युज
काठमाडौं । सरकारको निर्णयमा टिकटक सेवा बन्द गराएको नेपाल दूरसञ्चार प्राधिकरणले भीपीएन समेत बन्द गर्ने तयारी गरेको छ । सरकारको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गराउनको लागि प्राधिकरणले भीपीएन सेवा समेत बन्द तयारी गरेको हाे ।
सरकारको निर्णय कार्यान्वयन भए/नभएको विषयमा अध्ययन गर्नको लागि प्राधिकरणले शुक्रबार निर्देशक बिजयकुमार रायको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । निर्देशक रायकाअनुसार सो समितिले अहिले टिकटक पूर्ण रुपमा प्रतिबन्ध भए/नभएको अवस्थालाई अध्ययन गरिरहेको छ ।
सो समितिले आगामी बिहीबारसम्म अनुसन्धानको काम गरेर प्राधिकरणलाई प्रतिवेदन बुझाउने उनले बताएका छन् । समितिले टिकटक पूर्ण रुपमा बन्द भएन/भएको र बन्द गर्नका लागि आवश्यक चाल्न सकिने कदमका बारेमा प्रतिवेदनमा सुझाव उल्लेख गर्ने निर्देशक रायले बताए ।
‘भीपीएन सामान्यतया प्रयोग गर्न नहुने एप हो, त्यसले पनि जोखिम निम्त्याउँछ’, उनले भने, ‘भिपिएन प्रयोगको कोणबाट पनि हामीले हेरिरहेका छौं, टीकटक कुनै पनि एपबाट चल्नु भएन भन्ने हो ।’
प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले भीपीएन पनि बन्द गर्न सकिने बताए । उनले नेपालमा कुन-कुन भीपीएन बढी प्रयोग भइरहेको छ भन्ने विषयमा प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाउने बताए ।
‘भीपीएन धेरै चलेका छन्, नेपालमा कुन-कुन भीपीएन धेरै चलेका छन्, सो विषयमा अध्ययन गर्नकै लागि यो प्राविधिक टोली गठन भएको हो, त्यसको प्रतिवेदनका आधारमा काम गर्ने हो’, उनले भने । उनले बढी चलेका भीपीएनहरूलाई आधार बनाएर प्राधिकरणले बन्द गर्न सक्ने बताएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.