खरायोपालनबाट मनग्य आम्दानी गर्दै जुम्लाका किसान

  २०८० मंसिर ४ गते ११:५२     विकासन्युज

जुम्ला । यहाँका महिला  पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब एक सय ८० घरधुरीका महिला खरायो पालनमा लागेका छन् ।

स्थानीय मन्न बुढाले खरायोबाट रारा गाउँका बासिन्दाले मनग्ये आम्दानी गर्ने गरेको बताए । सिङ्गो गाउँका महिला आत्मनिर्भर बन्नका लागि सीपमूलक तालिमदेखि विभिन्न पेश व्यावसायिकता लागेका छन् । सबैभन्दा सहज र राम्रो आम्दानीको माध्यम भनेको खरायो पालन हो । स्थानीय सरकारबाट दिएको सीपमूलक तालिमबाट व्यवसायी बन्न सहज भएको छ । प्रती खरायो पाँच सय रुपैयाँमा बिक्री हुने गरेको रारा गाउँका खरायो पालक किसान मुना रावतको भनाइ छ ।

तिलाका नौ वटै वडाका महिलालाई दिगोपन तालिम सञ्चालनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी आयआर्जनका तालिम सञ्चालन गरिने तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।

यहाँको चन्दननाथ नगरपालिका–८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी उत्पादन गरेर बिक्री वितरण गर्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ । सो गाउँलाई खरायोको गाउँ भनेर पनि चिन्छन् । हरेक घरमा खरायो पालिएको छ । खरायोको उनबाट टोपी बुन्ने काम पनि हुने गरेको छ । सो गाउँका ३७ वर्षीय विष्णु रोकायाले खरायो पाल्न थालेको २७ वर्ष बित्यो । अहिले ६० वटा खरायो पालेका छन् । बजार लगेर तीन हजार रुपैयाँमा बिक्री हुने गरेको छ । रोकाया गाउँमै एक नमूना खरायो पालक किसान हुन् । विष्णुको आम्दानीको स्रोत नै खरायोको टोपी हो । एक महिनामा आठ वटा टोपी तयार हुने गरेको छ । यसबाट महिनामा न्यूनतम २५ हजार रुपैयाँ आम्दानी हुने गरेको खरायो पालक किसान रोकायाले बताए ।

गाउँमा हुने शुभकार्यदेखि सदरमुकाम खलङ्गामा हुने बिदाइ तथा सम्मान कार्यक्रममा खरायोको टोपीको प्रयोग भइरहेको छ । अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी कर्मचारीदेखि ठूला व्यापारीलाई खरायोको टोपीले स्वागत गरिन्छ । जिल्लामा बुनेको खरायोको टोपी देशका उच्च तहका राजनीतिक दलका नेताले समेत लगाएको यहाँका खरायो पालक किसान बताउँछन् ।

प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ । टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायो पालनमा लागेपछि किसानको प्रगति भइरहेको छ । खरायोको टोपी बेचेर पाँच लाख बचत गरेको किसान विष्णु रोकायाले जानकारी दिए ।

खरायोको टोपी आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा पर्ने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए । एउटा खरायोको टोपीको मूल्य रु तीन हजारदेखि पाँच हजारसम्म रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीले जनाएको छ ।

खरायो टोपीको माग सबैतिर छ, मागअनुसार पठाउन सकिएको छैन । खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छ । सबैभन्दा बढी सुर्खेत, नेपालगञ्ज, काठमाडौँमा खरायोको टोपीको माग हुने गरेको रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाको भनाइ छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.