विश्वका १० धनी क्रिकेटर : जोसँग छ अर्बौंको सम्पत्ति

  २०८० मंसिर ३ गते १६:५२     विकासन्युज

काठमाडौं । यतिखेर विश्वको ध्यान क्रिकेटतर्फ आकर्षित भइरहेको छ । अहिले विश्वकप चलिरहेकोले पनि धेरैको ध्यान क्रिकेटतिर तानिएको हाे। अहिले भारतमा विश्वकप क्रिकेट जारी छ । फाइनलमा भारत र अस्ट्रेलिया उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । खेलाडीहरूले खेलर र विभिन्न कम्पनीहरूको विज्ञापनमा खेलेर पनि करोडौं रुपैयाँ कमाउने गरेका छन् । आज हामीले विश्वका सबैभन्दा धनी १० क्रिकेटरको सूची तयार पारेका छौं ।

१. सचिन तेन्दुलकर

भारतीय क्रिकेटर सचिन तेन्दुलकर विश्वका चर्चित खेलाडीका रूपमा परिचित छन् । उनी भारतीय क्रिकेटका पूर्व कप्तानसमेत हुन् । भारतको मुम्बईमा जन्मेका उनी विश्व क्रिकेटको इतिहासमै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा चिनिन्छन् । उनले क्रिकेटमा दर्जन बढी रेकर्डहरू बनाएका छन् । उनी विश्वका सबैभन्दा धनाड्य क्रिकेटरका रूपले पनि परिचित छन् । उनीसँग १२ अर्ब ५० करोड भारतीय रूपैयाँ अर्थात् १६५ मिलियन डलर बराबरको सम्पत्ति छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार भन्दा धेरै रन र शतकको पनि शतक बनाउने सचिन विश्वकै एक मात्र खेलाडी हुन् । उनले विज्ञापनमार्फत् पनि धेरै कमाउने गरेका छन् । उनी विज्ञापनबाटै १०० करोड कमाउने विश्वकै पहिलो क्रिकेटर हुन् ।

२. महेन्द्रसिंह धोनी

विश्वका दोस्रो धनी क्रिकेटरमा महेन्द्रसिंह धोनी पर्छन् । उनी पनि भारतीय क्रिकेट टीमका पूर्व कप्तान हुन् । उनी भारतीय क्रिकेटरमध्ये सफल खेलाडीको रूपमा पनि परिचित छन् । धोनी कुनै समय सर्वाधिक कमाइ गर्ने क्रिकेटर थिए । उनको औसत कमाइ वार्षिक १ सय ५० देखि १ सय ९० करोड भारुसम्म हुन्थ्यो । हाल उनीसँग १० अर्ब ४० करोड भारु अर्थात् १३० मिलियन डलरबराबरको सम्पत्ति छ ।

उनले भारतलाई टी २० र एक दिवसीय गरि २ वटा विश्वकप दिलाएका छन् । धोनी भारतका लागि आईसीसीका तीन टुर्नामेन्ट जित्ने पहिलो र एक मात्र कप्तान पनि हुन् । उनी पनि विभिन्न ठूला कर्पोरेट हाउसहरूसँगको सहकार्यमा विज्ञापनमा खेलेर करोडौं कमाउने गर्दछन् ।

३. विराट कोहली

भारतीय क्रिकेटका पूर्व कप्तान विराट कोहली अहिले पनि क्रिकेट खलिरहेका छन् । उनले पनि एक सफल क्रिकेटरको छवि बनाएका छन् । विराटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमान बराबरी गर्न सफल भएका छन् । विराटको कुल अन्तर्राष्ट्रिय शतक ७९ पुगेको छ । उनले टेस्टमा २९ र टी–२० मा एक शतक प्रहार गरेका छन् । विराटको सफलताको कारण उनको आत्मविश्वास, खेलप्रतिको समर्पण, एकाग्रता, निष्ठा र अनुशासनलाई श्रेय दिन सकिन्छ । पूर्व कप्तान धोनीको संन्यासपछि कप्तानको जिम्मेवारी उनको काँधमा आएको थियो ।

तर, उनले पनि कप्तानबाट राजीनामा दिएपछि भारतीय क्रिकेटको कप्तानी रोहित शर्माले सम्हालिरहेका छन् । कोहली पनि धनी खेलाडीमध्येमा पर्छन् । हाल उनीसँग १० अर्ब २० करोड अर्थात् १२७.५ मिलियनबराबरको सम्पत्ति रहेको बुझिन्छ ।
भारतीय र अन्य विदेशी कम्पनीहरुका पनि उनी अहिले ब्राण्ड एम्बास्डर भएर काम गरिरहेका छन् । उनी पनि विज्ञापनमा खेलेर करोडौं कमाउने गरेका छन् ।

४. सौरभ गाङ्गुली

सौरभ गाङ्गुली पनि भारतीय क्रिकेटर हुन् । उनी पनि भारतीय क्रिकेट टीमका पूर्व कप्तान हुन् । हाल उनी भारतीय क्रिकेट बोर्डको अध्यक्षका रूपमा काम गरिरहेका छन् । उनीसँग पनि ६ अर्ब ३४ करोड भारतीय रुपैयाँ अर्थात् ७९.२५ मिलियन डलर बराबरको सम्पत्ति रहेको बताइएको छ ।

५. रिक्की पोन्टिङ

रिक्की पोन्टिङ अष्ट्रेलियाको क्रिकेटका पूर्व कप्तान हुन् । उनी हाल कोचका रूपमा काम गरिरहेका छन् । उनले पनि एक सफल ब्याट्सम्यानको छवि बनाएका छन् । अष्ट्रेलियाको क्रिकेटलाई माथि उठाउनका लागि उनको ठूलो योगदान छ । उनको कप्तानीमा अस्ट्रेलियाले लगातार २ पटक विश्वकपको उपाधि पनि जितेको छ । उनी पनि विश्वका धनी क्रिकेटरको सूचीमा पाँचौं नम्बरमा छन् । उनीसँग हाल ६० मिलियन डलरबराबरको सम्पत्ति छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलिययाका लागि ७१ शतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् । उनी पनि विभिन्न ब्राण्डको विज्ञापन पनि खेल्छन् । उनी विश्वकै महँगो क्रिकेट कमेन्टटेटरको रूपमा पनि चिनिन्छन् ।

६. शेन वार्न

शेन पनि अष्ट्रेलियाका एक अनुभवी पूर्व क्रिकेटरका रूपमा चिनिन्छन् । उनी विश्वका सबैभन्दा धेरै विकेट लिने खेलाडीको उच्च सूचीमा छन् । वार्नले पनि विभिन्न कम्पनीको प्रडक्टको विज्ञापनमा खेलेर करोडौं कमाउने गरेका छन् । हाल उनीसँग ५१.१२५ मिलियन डलरबराबरको सम्पत्ति रहेको बुझिन्छ ।

७. क्रिस गेल

क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)विश्व क्रिकेटका चर्चित खेलाडी हुन् । उनी वेष्ट वेन्डिजका एक सफल ब्याट्सम्यान हुन् । उनी पनि विश्का क्रिकेटरहरूमध्येमा सातौं धनी खेलाडीमध्येमा पर्छन् । हाल उनीसँग ४६.८७५ मिलियन अमेरिकी डलरबराबरको सम्पत्ति रहेको बुझिएको छ । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यानको छवि बनाएका उनी युनिभर्स बोसका नामले पनि परिचित छन् ।

८.विरेन्द्र सहवाग

विरेन्द्र सहवाग भारतीय क्रिकेट टिमका पूर्व खेलाडी हुन् । उनी पनि विस्फोटक ब्याट्सम्यानका रूपमा चिनिन्थे । भारतका लागि टेस्टमा तेहेरो शतक लगाउने एक मात्र व्याट्सम्यानका रूपमा उनी परिचित छन् ।

सहवाग लामो समयसम्म हिरो होण्डाका ब्राण्ड एम्बेसडर बनेका थिए । क्रिकेटको साथै सहवाग बूस्ट, स्यामसुंग, रिबोक, एडिडास र अरु अन्तर्राष्ट्रिय ब्राण्डका लागि विज्ञापन पनि गरेका छन् । अहिले सहवाग हरियाणमा अन्तर्राष्ट्रिय स्कूल चलाइरहेका छन् । उनीसँग हाल ४१.५ मिलियन डलरबराबर सम्पत्ति रहेको खुलेको छ ।

९. पेट कमिन्स

अष्ट्रेलियन क्रिकेट टिमका कप्तान हुन् पेट कमिन्स । उनी तीब्र गतिका बलर हुन् । कमिन्स १५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गर्छन् । उनी महँगा खेलाडी रूपले पनि चिनिन्छन् । हाल उनीसँग ४० मिलियन अमेरिकी डलरबराबरको सम्पत्ति रहेको बुझिएको छ । उनी विश्वका क्रिकेटरको नवौं नम्बरको धनीमध्ये पर्छन् ।

१०. युवराज सिंह

युवराज सिंह भारतीय पूर्व क्रिकेटर हुन् । उनी अलराउण्डर खेलाडीका रूपमा परिचित थिए । उनीसँग पनि २ अर्ब ६६ करोड भारु अर्थात् ३३.२५ मिलियन अमेरिकी डलरबराबर सम्पत्ति रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.