सूर्यज्योतिका सीईओ खत्रीको नयाँ शैलीले जमेको माहोल

  २०८० मंसिर ३ गते १०:५५     विकासन्युज

काठमाडौं । तपाईं हामी सबैलाई थाहा छ, कुनै कम्पनी वा संस्थाले कुनै कार्यक्रमको आयोजना गर्यो र त्यहाँ पत्रकारहरूलाई पनि निमन्त्रणा भयो भने त्यस कार्यक्रममा कम्पनीले पत्रकारहरूका प्रश्नको सामना गर्नुु पर्छ । त्यस्तै एउटा कार्यक्रमको आयोजना सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो ।

गत शुक्रबार नेपालकै पहिलो र एक मात्र नयाँ जीवन बीमा योजनाको सुभारम्भ गर्ने भन्दै कम्पनीले पत्रकारलाई जानकारी गरायो । तर, तपाईं हामीले सोचेजस्तो त्यहाँ पत्रकारले प्रश्न गर्नेभन्दा पनि कम्पनीले पत्रकारहरूलाई प्रश्न गर्यो । जसले माहोल मात्रै जमाएन पत्रकारहरूमा पनि बीमा सम्बन्धि सचेतना र बीमा शिक्षाको विषयमा राम्रोसँग जानकारी भयो ।

कार्यक्रम हलभित्र बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, प्राधिकरणका उच्च तहका कर्मचारी, सूर्यज्योति लाइफका कर्मचारी र सञ्चालक र पत्रकारहरूसहित करिब दुई/अढाई सय जनाको उपस्थिती थियो । कार्यक्रममा अधिकांश सञ्चारमाध्यममा आवद्ध पत्रकारहरू थिए ।

कार्यक्रमको सुरुवातमै आफ्नो प्रस्तुति दिन उद्घोषकले सूर्यज्योति लाइफ प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीलाई पोडिएममा बोलाए । उनले सबैलाई स्वागत गर्दै आफ्नो प्रस्तुति राख्ने अनुमति मागे । ल्यापटप खोल्दै उनले कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरणको झलक प्रस्तुत गरे ।

गत वर्षको पुसमा साविक सूर्य लाइफ र ज्योति लाइफबीच जीवन बीमा कम्पनीहरुमा पहिलो मर्ज भएको बताए । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ, कूल लगानी ३४ अर्ब रुपैयाँ, जीवन बीमा कोष २९ अर्ब ५० करोड रुपैयाँ, नेटवर्थ ६ अर्ब २२ करोड रुपैयाँ, जारी बीमालेख संख्या २२ लाख, १७६ शाखा कार्यालय र सक्रिय रुपमा आवद्ध करिब ९४ हजार अभिकर्ता मार्फत कम्पनीले सेवा प्रवाह गर्दै आइरहेको बताउँदै उनी अर्काे विषयतर्फ मोडिए ।

‘विभिन्न कार्यक्रम हुँदा पत्रकारहरूले हामीलाई प्रश्न गर्नु हुन्छ । तर, आज म तपाईंहरूलाई प्रश्न गर्छु,’ उनले त्यसो भनिरहँदा सबै जना पत्रकारहरू अचम्मित बने ।

सीईओ खत्रीले सबैजनालाई होटलले उपलब्ध गराएको वाईफाई मोबाइलमा कनेक्सन गर्न आग्रह गरे । वाईफाईको युजर आईडी र पासवर्ड सबै टेबलमा प्रिन्ट गरेर राखिएको थियो । सबैले वाईफाई कनेक्सन गरेपछि मेन्टी डटकम वेभसाइट खोल्न लगाए । सो वेभसाइट खोलेपछि कोड नम्बर भने । सो कोड नम्बर उल्लेख गरेपछि सुरुमा एउटा प्रश्न सोधियो, ‘के तपाईंहरूले जीवन बीमा गर्नु भएको छ ? साथै, उक्त प्रश्न ठूलो पर्दामा पनि सबैले देख्ने गरी स्पष्ट देखिएको थियो ।

साथै, प्रश्नको तलतिर विकल्पको रूपमा उत्तर पनि उल्लेख गरिएको थियो, ‘एस’, ‘नो’ र ‘गर्ने योजनामा छु’ । त्यसपछि ३४ प्रतिशतले बीमा गरेको छु, १२ जनाले गरेको छैन र १ जनाले गर्ने योजनामा छु भनेर उत्तर दिए ।

उक्त प्रश्नपछि सीईओ खत्रीले अर्काे प्रश्न गरे, ‘नेपाली जनताहरुहरूमा बीमा सचेतनाको अवस्था के छ ? अप्सनमा राखिएको थियो, बढ्दोक्रम, उच्च, मध्यम र न्यून । सर्वेक्षणमा सहभागीहरुमध्ये बढ्दोक्रममा ४५ प्रतिशत, उच्च २ प्रतिशत, मध्यम ३९ प्रतिशत र न्यूनमा १४ प्रतिशत रहेको जवाफ दिए ।

त्यस्तै, पोलिसी होल्डरको लागि सबैभन्दा महत्वपूर्ण तत्व के हो ? बोनस, रिस्क कभरेज, फोर्स सेभिङ र अन्य । सर्वेक्षणमा सहभागीहरुमध्ये बोनसमा १३ प्रतिशत, रिस्क कभरेजमा ६९ प्रतिशत, फोर्स सेभिङमा १८ प्रतिशत र अन्यमा शुन्य उत्तर दिए ।

यस्तै, अहिलेको अवस्थामा सबैभन्दा चर्चित प्रडक्ट कुन हो ? जसको उत्तरमा थियो, इन्ड्राउनमेन्ट, मोनि ब्याक, टर्म प्लान र होल लाइफ । सर्वेक्षणमा सहभागीहरुमध्ये इन्ड्राउनमेन्टमा ५५ प्रतिशत, मोनि ब्याकमा २० प्रतिशत, टर्म प्लानमा १० प्रतिशत र होल लाइफमा १५ प्रतिशत उत्तर दिए ।

यस्तै, अहिलेको अवस्थामा बीमितहरुले कुन बीमाङ्क रकमको पोलिसी खरिद गरिरहेका छन् र औषत प्रिमियम कति छ ? अप्सलमा ६ लाखको बीमाङ्क रकम र वार्षिक ४० हजार प्रिमियम, २० लाखको बीमाङ्क रकम र वार्षिक १ लाख ३० हजार प्रिमियम र २५ लाखको बीमाङ्क र वार्षिक १ लाख ६५ हजार प्रिमियम । सर्वेक्षणमा सहभागीहरुमध्ये अधिकांशले सानो बीमाङ्क रकम र कम प्रिमियम शुल्क भएको बीमा योजना खरिद गरिरहेको जवाफ दिए । ८६ प्रतिशतले ६ लाख, १२ प्रतिशतले २० लाख र २ प्रतिशतले मात्रै २५ लाख बीमाङ्क रकम भएको बीमा योजना खरिद गरिरहेको सर्वेक्षणले देखायो ।

साथै, कुनैपनि मान्छे बीमा गर्दा आफ्नो सम्पत्ति, कर्जा लगायतको अवस्था हेरेर वा अध्ययन बीमा गर्ने गरेको छ नबुझि बीमा गरिरहेको छ ? भनेर सीईओ खत्रीले प्रश्न गरे । एस, नो र नट स्योर अप्सन राखिएको थियो । सर्वेक्षणमा सहभागी ८० प्रतिशतले आफ्नो सम्पत्तिको सुरक्षा नहेरि बीमा गर्ने गरेकोमा बढी देखिए ।

उनले अर्काे प्रश्न गरे, जीवन बीमा किन खरिद गर्नु पर्छ ? बोनस, रिस्क कभरेज, फोर्स सेभिङ र अन्य अप्सन थिए । सर्वेक्षणमा सहभागीमध्ये ९८ प्रतिशतले रिस्क कभरेज र २ प्रतिशतले मात्रै बोनसको लागि जीवन बीमा गर्नु पर्ने उत्तर दिए ।

यस्तै, ग्राहकहरुलाई बैंकको प्रडक्ट जस्तै बीमा प्रडक्टको बारेमा जानकारी छ की छैन ? सहभागीहरुमध्ये ८० प्रतिशतले बीमा प्रडक्टको बारेमा ग्राहकलाई जानकारी नभएको उत्तर दिए । बीमा बुझाउन गाह्रो भएकाले बैंकिङ्ग प्रडक्टभन्दा बीमा प्रडक्टका बारेमा ग्राहकरुलाई जानकारी नभएको जवाफ दिए ।

जीवन बीमा सामान्य, सबैले खरिद गर्न सक्ने र उच्च कभरेज हुनु पर्छ की नाइ भन्ने प्रश्नमा ९५ प्रतिशतले जीवन बीमा धेरै सरल, सबैले खरिद गर्न सक्ने र सस्तो भएपनि उच्च कभरेज हुनु पर्ने उत्तर दिए ।

खत्रीको यो नयाँ अभ्यासले कार्यक्रमको माहोल मात्रै जमेन नयाँ सिकाइ र अनुभव पनि प्राप्त भएको धेरैको प्रतिक्रिया थियो । बीमा र बीमाको पहुँच सम्बन्धि सो सर्वेक्षणले केही मात्रामा भएपनि जानकारी भएको धेरैको धारणा थियो ।

उक्त सर्वेक्षणले नेपालको बीमा बजार कस्तो छ भन्नेबारे प्रष्ट पारेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए । यसबाट जे उत्तर आएको छ, स्थिती पनि ठ्याक्कै त्यहि रहेको उनको भनाइ छ । साथै, सोही सर्वेक्षणलाई मनन गरेर प्रत्येक जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई अनिवार्य रुपमा बीमा सम्बन्धि जनचेतना कार्यक्रम गर्न निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.