२०८० कार्तिक २४ गते १३:०७ विकासन्युज
तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । ‘आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ’, बास्तोलाले भने, ‘चितवनबाट व्यावसायिक रुपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो ।’ उनका अनुसार तीन लाख रुपैयाँ बराबरको माला निर्यात भएको छ ।
उनले अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताए । ‘अहिले हङकङ निर्यात गरेका छौँ’, उनले भने, ‘विस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।’
विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताए । ‘हामीले गत वर्षदेखि बाह्र महिना नै फूल खेती गर्छौँ । माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ’, उनले भने, ‘चितवनमा फूल खेतीको सम्भावना राम्रो छ ।’
तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गरेका छन् । फूल खेतीबाट यसवर्ष बाह्र हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उनीहरुको अनुमान छ । यसबाट १५ लाख रुपैयाँ आम्दानी हुने अमितले बताए । बजार भए भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ । ‘अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ’, उनले भने, ‘फूल खेतीमा ५० प्रतिशत नाफा हुन्छ ।’ उनीहरुले फूल खेती सुरु गरेको चार वर्ष भयो । कोरोना माहामारीपछि फूल खेती सुरु गरेका तीन दाजुभाइले जग्गा भाडामा लिएर खेती गरेका हुन् ।
भारतको कलकत्तादेखि एक लाख रुपैयाँ बराबरको बीउ ल्याएर तीन बिघामा खेती सुरु गरेका उनीहरुले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गरेका हुन् । कात्तिक २४ गते राति काठमाडौंबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिए। हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले बताए।
‘म विदेशमा च्याउ निर्यात गर्दै आएको छु । सो क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ’, उनले भने, ‘तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिङ्गापुर, मलेसिया, दुबई र कतारबाट समेत सयपत्री फूल र मालाको माग आएको छ ।’
चितवनमा ५० बिघामा फूलखेती भएको छ । चितवनमा तिहारका लागि फूल खेती गर्ने करिब एक सय जनाको हाराहारीमा किसान छन् । रासस
Copyright © 2023 Bikash Media Pvt. Ltd.