कर संकलनका लागि महानगरले थाल्यो स्थलगत अनुगमन

  २०८० कार्तिक २३ गते १५:५३     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ । कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन थालिइएको हो ।

कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले सम्पत्ति कर, वहाल कर र व्यवसाय कर बुझाउनुपर्ने दायित्व भएका करदातामध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा जानकारी दिन, कर नियमित तिर्नका लागि प्रोत्साहन गर्न वडामा स्थलगत अनुगमन सुरु गरिएको जानकारी दिए ।

प्रत्येक वडाले वडा सदस्यको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ । टोलीमा कर्मचारी एकजना र स्थानीयमध्ये एकजना सदस्य रहने व्यवस्था रहेको छ ।

टोलीले सचेतनाका साथै कर तिर्नका लागि वडामा आउन वा अनलाइनबाट तिर्न मौखिक अनुरोध गर्नेछ । मौखिक अनुरोधको अटेर गर्नेलाई वडा सचिवमार्फत पत्राचार हुनेछ । स्थलगत अवस्थाको विवरण सङ्कलन गर्नेछ । सङ्कलित विवरण अनुसार तथ्याङ्क तयार पारी राजस्व विभागका पेस गर्ने बताइएको छ ।

‘सात तले घरले सात हजार बहाल सम्झौता देखाएका छन् । जवकि हरेक भूमिगत तला र जमिन तला व्यावसायिक प्रयोजनमा देखिन्छन् । त्यस माथिका तला वहालमा लगाइएको छ । एउटै तलामा सात भन्दा धेरै कोठा छन् । हरेक कोठाको सात हजारभन्दा धेरै वहाल उठाउने गरिएको छ । यसरी करदाताले झुटो विवरण दिएपछि स्थलगत अनुगमन थालिएको हो’ उनले भने ।

विगतका वर्ष भन्दा चालु आर्थिक वर्षमा क्रमिक रुपमा करतादाको सङ्ख्या बढेपनि अपेक्षाकृत सबै करदाता कानुनी दायरामा नआएको कामपाको भनाइ छ । कामपाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको जनाएको छ ।

चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको छ । चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए । त्यसैगरी सम्पत्ति करबाट २५ करोड रुपैयाँ असुल भएको छ ।

गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करतादा बढेका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.