सीआईटीबाट बाहिरिए रमण नेपाल, नयाँ कार्यकारी निर्देशक खोजिँदै

  २०८० कार्तिक २१ गते १२:४०     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि बाहिरिएका छन् । वि.सं. २०७५ कात्तिक २५ गते कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका नेपाल ५ वर्षे कार्यकाल सकिएपछि कोषबाट बाहिरिएका हुन् ।

नेपालको कार्यकाल सकिएपछि कोषले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । कोषले मंगलबार एक सूचना जारी गर्दै रिक्त कार्यकारी निर्देशक पदका लागि विज्ञापन आह्वान गरेको छ ।

कोषको कार्यकारी निर्देशक बन्न नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ ।

त्यस्तै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिम नियुक्तिका लागि योग्यता भएको र सोही मापदण्डको दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने सूचनामा उल्लेख छ ।

उक्त मापदण्ड अनुसार योग्यदा पुगेका आवेदकहरुले निवेदन पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र २प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नु पर्नेछ ।

प्राप्त आवेदन मध्ये बढीमा ५ जनाको नाम सर्टलिस्ट गरिने र सर्टलिस्टमा छनौट भएका उम्मेदवारले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नु पर्ने छनौट समितिले जनाएको छ । दोस्रो चरणमा अन्तिम ३ जनाको नाम अर्थ मन्त्रालय समक्ष सिफारिस गरिने सूचनामा उल्लेख छ ।

इच्छुक नेपाली नागरिकहरुले २१ दिन अर्थात् मंसिर ११ गतेसम्म आवेदन पेश गर्न कोषले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.