आज महानवमी : तलेजु मन्दिर सर्वसाधारणका लागि खुला

  २०८० कार्तिक ६ गते १०:५२     विकासन्युज

काठमाडौं । प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको हो । वर्षमा एक पटक महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड छ । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार आज सोही अवसरमा मन्दिर खुला गरिएको हो ।

तलेजु मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मुल चोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मुल मन्दिरमा फर्काइने प्रचलन छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन समितिले साइतअनुसार यात्रा गराइनेछ । महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत विधिवत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने परम्परा छ ।

दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलीसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवीसास्त्रोक्त पाठ गरिन्छ । पशुबली नदिने र साकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेतको बली दिइ पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तीथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्ववका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबली पनि दिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.