२०८० असोज २८ गते १६:४९ विकासन्युज
काठमाडौं । नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्र मन्त्री नारायणप्रकाश साउद नेपाली नागरिकलाई उद्धार गर्न नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत् स्यवम् इजरायल गएका थिए । यही असोज २० गते इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए । सोही आक्रमणमा परेका विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । मन्त्री साउदले जोशीको खोजीका लागि इजरायल सरकार र अन्य मुलुकसँग समेत कूटनीतिक पहल भइरहेको बताएका छन् । यसै सन्दर्भमा केन्द्रित रहेर मन्त्री साउदसँग गरिएको कुराकानीको अंश :
इजरायल घट्नाक्रमपछि नेपालीको उद्धारका लागि सरकारले के कस्ता प्रयास गरिरहेको छ ?
इजरायलमा नेपालीको पछिल्लो अवस्था कस्तो छ ?
इजरायलमा आक्रमणपछि उद्धारको पर्खाइमा रहनुभएका दुई सय ५४ जना नेपाली नागरिकको उद्धार गरी नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् स्वदेश फर्काइएको छ । नेपाल फर्काइएका बाहेक स्वदेश फर्कन चाहने दुई सय जनाभन्दा बढीको विवरण प्राप्त भएको छ । नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रकृया सुरु गरिएको छ । घाइते भई उपचारका क्रममा रहनुभएका चार जनामध्ये डिस्चार्ज हुनुभएका एक जनालाई विमानमार्फत् नेपाल ल्याइएको छ । अन्य उपचाररत हुनुहुन्छ । बेपत्ता विद्यार्थी जोशीको खोजी तीव्रता दिइएको छ । इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्न चाहन्छु ।
निधन भएका विद्यार्थीको शव कहिलेसम्म नेपाल ल्याइन्छ ?
आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ । यसबाहेक एक हजारभन्दा सङ्ख्यामा इजरायली नागरिक र अन्य देशका नागरिकको पनि शव छ । त्यती नै सङ्ख्यामा आक्रमणकारीको पनि शव छ । तसर्थ ती सबै शवको परीक्षण गरी कानुनी प्रक्रियाअनुसार सम्बन्धीत देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ । यस बारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफै ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । इजरायलका विदेशमन्त्री र यहाँस्थित इजरायली राजदूतसँग भएको संवादमा पनि उहाँहरुले सो कुरा दोहोर्याउनुभएको छ । हामी पनि सकेसम्म छिटो शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न लागेका थियौँ । तर विभिन्न प्रक्रियाका कारण पहिलो चरणमा त्यो सम्भव भएन ।
बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीमा सरकारले के गरिरहेको छ ?
विद्यार्थी विपिन जोशीको हाल वास्तविक स्थिति अज्ञात नै छ । प्रत्यक्षदर्शीका अनुसार विपिन आक्रमणको समय बङ्करमा हुनुहुन्थ्यो । आक्रमणकारीले प्रहार गरेको बमलाई हातले टिपेर सुरक्षाका लागि बङ्करबाहिर फ्याक्नुभएको थियो । पछि हमास विद्रोहीले थाई नागरिकसँगै विपिनलाई पनि आफूसँगै लगेका थिए । त्यसपछि उहाँ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने यकिन हुन सकेको छैन । इजरायलभित्रको परिस्थितिमा बारेमा हामीले पटक-पटक विभिन्न चरणमा विभिन्न तहमा इजरायल सरकारलाई खोजीका लागि आग्रह गरिरहेका छौं । साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमबाट उहाँको खोजीलाई अझै तीव्र पारिएको छ । हमासको नियन्त्रणमा हो कि भन्ने आशङ्कामा हमाससँग सम्बन्ध भएका भनिएका मुलुकसँग कूटनीतिक पहल पनि सुरु गरिसकेका छौं ।
पर्खाइमा रहेका बाँकी नेपालीको उद्धार कहिले र कसरी हुन्छ ?
उद्धार गर्ने नेपाली नागरिकको सङ्ख्या पर्याप्त भयो भने हामी यहाँबाट पुनः चार्टर्ड विमान लगेर भएपनि उद्धार गर्न तयार छौं । तर त्यसो भएन भने पनि व्यावसायिक उडानमार्फत आउने नागरिकको खर्च सरकारले नै बेहोर्ने निर्णय भएको छ । यस बारेमा हामीले सूचना पनि जारी गरेका छौं । स्वदेश फिर्ता गर्नका लागि हामीले त्यहाँस्थित नेपाली दूताबासलाई निर्देशन दिइसकेका छौं ।
यसबारेमा सङ्ख्या निर्धारण गरेका छैनौं, तर यो निर्णय त्यहाँ रहेको सबै चार हजार पाँच सय नेपालीको हकमा लागू हुन्छ । तर मलाई सबै नेपाल अहिलेनै आउँछन् जस्तो लाग्दैन । धेरै केयर गिभर रुपमा गएका नेपाली इजरायली समुदायमा परिवार जस्तै भएर बसेका छन् । त्यहाँको सुरक्षा प्रोटोकलसँग उनीहरु अभ्यस्त पनि भइसकेको हुनाले उनीहरु हतार गरेर फर्केलान् जस्तो मलाई लाग्दैन ।
काम र अध्ययनका लागि लाखौँ नेपाली विदेश गएको अवस्थामा यो घट्नाबाट के पाठ सिक्न सकिन्छ ?
इजरायलमा हाल रहेका नेपालीलाई केही सन्देश छ ?
इजरायलमा हाल बाँकी रहेका नेपाली नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दछु । नेपाली दूताबासमा स्थानीय कर्मचारीलाई भर्ना गरेर भएपनि उपयुक्त जनशक्ति र संयन्त्र बनाउँदैछौं । आवश्यक सहयोगका लागि इजरायल सरकारले सहयोग गर्ने बचनबद्धता पनि व्यक्त गरेको छ । यस बीचमा सबै नेपालीलाई सुरक्षा प्रोटोकल आत्मसाथ गरेर बस्न आग्रह गर्दै फिर्ता गर्नका लागि सहजीकरण गरिरहेको अवगत गराउन चाहन्छु । यसमा आत्तिने कुरा छैन ।
इजरायल घट्नापछि संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण स्थगित भयो, अब कहिले हुन्छ ?
इजरायलको घट्नाक्रमले दुई महत्वपूर्ण भ्रमण स्थगित भएका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रस यही १३ अक्टोबरदेखि नेपाल भ्रमणमा आउने तालिका थियो । जुन केही हप्ताका लागि सरेकोे छ । उहाँहरुले नयाँ मिति प्रस्ताव गरिसक्नुभएको छ । यस सम्बन्धमा यकिन भएपछि हामी चाँडै भ्रमण तालिका सार्वजनिक गछौँ । नयाँ मितिको भ्रमणका लागि पनि हामीले गृहकार्य गरिरहेका छौं ।
इजरायल घट्नासँगै प्रधानमन्त्री दाहाललाई आमन्त्रण गरिएको १७ अक्टोबरमा कतारमा हुने एसिया डाइलग फोरममा प्रधानमन्त्रीको प्रतिनिधित्व गरी मैले जाने भ्रमण तय भएको थियो । यही घट्नाका कारण उक्त भम्रण पनि हाल स्थगित गरिएको छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
Copyright © 2024 Bikash Media Pvt. Ltd.