२०८० असोज १७ गते १९:१७ विकासन्युज
काठमाडौं । इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विशाल उप्रेती नियुक्त भएका छन् । असोज १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उप्रेतीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले उनलाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ उप्रेतीले असोज १८ गतेदेखि नै आफ्नो कार्यभार सम्हाल्ने छन् ।
उप्रेती यसअघि एनआईसी एशिया बैंकको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए । उप्रेतीले भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले नवनियुक्त सीईओ उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.