काठमाडौं । नयाँ बिजनेस ल्याउनमा अधिकांश जीवन बीमा कम्पनीहरुबीच नयाँ बिजनेस ल्याउनमा कडा प्रतिस्पर्धा देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ कम्पनीमध्ये ८ कम्पनीबीच नयाँ व्यवसाय भित्र्याउनमा प्रतिस्पर्धा देखिएको हो ।
जसमा सुर्यज्योति र हिमालयन लाइफ, रिलायबल नेपाल र आईएमई लाइफ, सन नेपाल र मेटलाइफ, एशियन र सानिमा रिलायन्स लाइफ रहेका छन् ।
गत साउन र भदौ गरी दुई महिनामा तिले नयाँ व्यवसायबाट ३३ करोड ८५ लाख रुपैयाँ प्रिमियम उठाउँदा हिमालयन लाइफले ३३ करोड ५५ लाख रुपैयाँ प्रिमियम उठाएको छ । नयाँ बिजनेसबाट सर्वाधिक प्रिमियम संकलन गर्नेको सूचीमा यी कम्पनी क्रमशः तेश्रो र चौथो स्थानमा छन् । यी दुबै कम्पनी गत आवमा मर्जरमा गएका कम्पनी हुन् ।
त्यस्तै, रिलायबल नेपालले २१ करोड ४६ लाख ७५ हजार रुपैयाँ बराबरको प्रिमियम उठाउँदा प्रतिस्पर्धी आइएमई लाइफले २१ करोड ४६ लाख ५० हजार रुपैयाँ प्रिमियम नयाँ व्यवसाय मार्फत संकलन गरेको छ ।
त्यसैगरी, अर्का प्रतिस्पर्धी मेट लाइफ र सन नेपाल लाइफले नयाँ व्यवसाय मार्फत क्रमशः २० करोड २३ लाख र २० करोड ५ लाख रुपैयाँ प्रिमियम उठाएका छन् ।
त्यस्तै, एशियन र सानिमा रिलायन्स लाइफ बीच पनि कडा टक्कर देखिएको छ । एशियन लाइफले १९ करोड ८७ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा सानिमा रिलायन्सले १९ करोड ५४ लाख रुपैयाँ प्रिमियम नयाँ बिजनेसबाट संकलन गरेको छ ।
जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत कूल ४ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । सञ्चालित १४ कम्पनीले गत साउन र भदौ महिना भित्रमा सो रकम बराबरको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । नेपाल लाइफले नयाँ व्यवसायमार्फत एक अर्ब ८ करोड ४९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
समीक्षा अवधिमा राष्ट्रिय बीमा संस्थानबाहेक अन्य कम्पनीले १० करोडभन्दा बढी प्रिमियम संकलन गरेका छन् । राष्ट्रिय बीमा संस्थानले भने ७ करोड ६८ लाख रुपैयाँ बराबरको प्रिमियम नयाँ व्यवसायमार्फत उठाएको प्राधिकरणले जानकारी गराएको छ ।