टिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

<p>काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । असोज १६ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत् फोन गर्न सक्ने भएका छन् । चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भिस्याट [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

असोज १६ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत् फोन गर्न सक्ने भएका छन् । चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत् टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्‍याएको थियो । पहिले सो क्षेत्रमा भिस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिब पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्नेछन् ।

यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरू समेत यसबाट लाभान्वित हुने कम्पनीले बताएको छ । करिब ३ हजार ७ सय मिटरको उचाइमा अवस्थित टिंकर भारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ।

त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।  नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरूमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको हो ।

Share News