आममाफीविरूद्ध अनशन सुरू गरेकी भारती अस्पतालमा

  २०८० असोज १७ गते १४:२०     विकासन्युज

काठमाडौं । रिगलको आममाफीविरूद्ध अनशन सुरू गरेकी भारती अस्पतालमा लगिएको छ।

बाँकेका योगराज ढकाल (रिगल) लाई आममाफी दिने सरकारको निर्णयविरूद्ध आमरण अनशन बसेकी भारती मानन्धरलाई अस्पतालमा लगिएको हो।

सर्वोच्च अदालतमा पुगेकी भारती बुधबार दिउँसो बेहोश भएपछि वीर अस्पताल लगिएको हो । उनले बुधबार माइतीघर मण्डलमा आफ्ना श्रीमान चेतन मानन्धरका हत्या गर्ने रिगललाई जेल चलान गर्नुपर्ने माग गर्दै अनशन सुरू गरेकी हुन्  ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको दिनमा सरकारको सिफारिसमा रिगललाई आममाफी दिँदै रिहा गरेको थियो । भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो।

सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष ०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै  सिफारिस गरेको थियो ।

रिगललाई आममाफी दिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभा बैठकमै प्रश्न उठाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति पौडेललाई भेटेर आममाफीबारे तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि रिगललाई सरकारले आममाफी सिफारिस गरेकोमा गत असोज ४ देखि ८ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकबाट विरोध गरेका थिए ।