काठमाडौं । एक वर्षको अवधिमा नेपाली बैंकिङ क्षेत्रबाट लामो समय काम गरेका अनुभवी बैंकरहरु बाहिरिएका छन् । तल्लो तहबाट बैंकिङ्ग करिअर सुरु गर्दै वर्षौंसम्म बैंकिङ क्षेत्रमै बिताएर बैंकको नेतृत्व नै गरेका अधिकांश प्रमुख कार्यकारी अधिकृतहरु यस वर्ष बैंकिङबाट बाहिरिरिएका छन् । कतिपय बैंकरहरु उमेरहदका कारण बैंकबाट बाहिरिए, कतिपय मर्जरको चपेटामा परे भने कतिपयलाई बैंक सञ्चालक समितिले दोहोर्याउन नचाहेर बैंकबाट अलग भएका हुन् ।
पछिल्लो एक वर्षको अवधिमा आधा दर्जन अनुभवी बैंकरहरु बैंकिङ क्षेत्रबाट बाहिरिएका हुन् । अनुभवी बैंकरहरु धमाधम बैंकिङ क्षेत्रबाट बाहिरिनु यो क्षेत्रको विकास र विस्तारमा पक्कै पनि प्रभाव पार्छ । हामीले एक वर्षको अवधिमा बैंकिङबाट बाहिरिएका बैंकरको विषयमा सामग्री तयार पारेका छौं ।
नारायण दास मानन्धर
नेपाली बैंकिङ क्षेत्रमा नारायण दास मानन्धरको योगदान, भूमिका र सक्रियता महत्वपूर्ण छ । ८० वर्षको उमेरसम्म बैंकिङमा सक्रिय भएर काम गरेका मानन्धर गत साउनमा प्राइम कमर्सियल बैंकबाट विदा भए ।
बैंकिङ्ग क्षेत्रमा साढे ५ दशक काम गरेका उनले उमेरको उत्तराद्र्धमा बैंक छाडे । प्राइम बैंकको स्थापना कालदेखि सीईओ रहेका मानन्धर २०२५ सालमा बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । मानन्धरले ५५ वर्षसम्म बैंकमा काम गरेर ८० वर्षको उमेरसम्म सक्रिय सीईओका रुपमा आफुलाई चिनाए ।
मानन्धरले विश्व खाद्य संगठनमा २ बर्ष, धान चामल निर्यात कम्पनीमा ४ बर्ष, राष्ट्रिय चामल कारखानामा २ बर्ष र भुमि सुधार कार्यालयमा २ बर्ष काम गरेका थिए । कृषि विकास बैंकको स्थापनाकालमा ११ वर्ष काम गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैकमा ५ बर्ष, लुम्विनी बैकमा २ बर्ष, नेपाल बंगलादेश बैकमा १ बर्ष र प्राइम बैंकमा १६ वर्ष सीईओको भूमिमा रहेर काम गरे । मानन्धरले एमकमसम्मको अध्ययन पुरा गरेका छन् । नेपाली बैंकिङ उद्योगमा उनको योगदान सधैं स्मरणयोग्य रहनेछ ।
कृष्णबहादुर अधिकारी
नेपालको जेठो बैंकका रुपमा सञ्चालन हुँदै आएको नेपाल बैंकबाट सीईओका रुपमा काम गर्दै आएका कृष्णबहादुर अधिकारी सोमबार (असोज १५ गते) बैंकबाट विदा भए । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नदोहोर्याएपछि उनी बैंकबाट बाहिरिन बाध्य भएका हुन् ।
नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशक बढी कार्य अनुभव हासिल गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् । सीईओ अधिकारीको कार्यकालमा नेपाल बैंक अधिकांश सूचकमा अब्बल रह्यो । उनी सीईओ हुनुअघि लाभांश नपाएका सेयरधनीले उनी सीईओ बनेपछि लाभांश पाए । बैंकका कर्मचारीको सेवा सुविधा पनि उनी सीईओ बनेपछि नै थपिए । कर्मचारी र सेयरधनीका लागि अधिकारीको कार्यकाल नेपाल बैंकका लागि सम्झन लायक हुनेछ ।
सुमन शर्मा
बैंकिङ क्षेत्रमा साढे ३ दशकको अनुभव भएका सुमन शर्मा एक कुशल बैंकर रुपमा परिचित छन् । तत्कालीन सनराइज बैंकको सीईओ भएर काम गरेका उनले सनराइज लक्ष्मीसँग मर्ज भएपछि बैंकबाट बाहिरिए ।
लक्ष्मी सनराइज बैंकको डीसीईओ बनाउने बैंक सञ्चालकको प्रस्तावलाई अस्वीकार गर्दै उनले गत असारमा बैंक छाडेका थिए । वि.सं. २०७७ माघमा साविक सनराइज बैंकको सीईओमा नियुक्त भएका शर्मा मर्जपछि बाहिरिएका हुन् ।
उनी त्यसअघि माछापुच्छ्रे बैंकमा २१ महिना सीईओ भएर सनराइज प्रवेश गरेका थिए । सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए स्नात्तकोत्तर हासिल गरेका शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता समेत हुन् । नेपाल फर्केपछि शर्माले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरेका थिए ।
अनिलकुमार उपाध्याय
कृषि विकास बैंकमा ४ वर्षे सीईओको कार्यकाल सकिएपछि अनिलकुमार उपाध्याय गत पुस १० गते बैंकबाट बाहिरिए । वि.सं. २०७५ पुस १० गते बैंकको सीईओका रुपमा नियुक्त भएका उनी दोस्रो कार्यकालका लागि नदोहोरिएपछि बैंकबाट बाहिरिनु परेको हो ।
वि.सं. २०४३ जेठ १ गतेदेखि कृषि विकास बैंकमा लेखा अधिकृतबाट बैंकिङ्ग करियर सुरु गरेका उपाध्याय सो बैंकको विभिन्न पदमा रही काम गरेका थिए । उनले बैंकमा शाखा प्रमुख, विभागीय प्रमुख, कायमुकायम मुख्य निर्देशक, उपमहाप्रबन्धक हुँदै बैंकको सीईओ बनेका थिए ।
उपाध्यायको स्नातकोत्तरसम्मको शैक्षिक योग्यता रहेका छ । करिब ४ दशक लामो बैंकिङ्ग अनुभव हासिल गरेका उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्ष समेत भएर काम गरेका थिए ।
श्रवणलाल मास्के
साविक बैंक अफ काठमाण्डूमा सीईओ भएर काम गरिसकेका श्रवणलाल मास्के ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि वरिष्ठ डीसीईओ बनेका थिए । तर, ग्लोबल आइएमई बैंकमा प्रवेश गरेको ७ महिनामै उनी बैंकबाट विदा भए ।
स्वास्थ्य समस्या देखाउँदै बैंकबाट बाहिरिएका मास्केले बैंकिङ्ग क्षेत्रमा साढे ३ दशकको अनुभव छ । मास्केले नबिल बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले नबिल बैंकमा २१ वर्ष, लुम्बिनी बैंकमा १० वर्ष र बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक)मा ७ वर्ष काम गरेर बैंकिङ्गबाट बाहिरिएका हुन् । मास्केले बिकमसम्मको अध्ययन पुरा गरेका छन् ।
सुनिल पोखरेल
सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि सीईओ सुनिल पोखरेल नेपाली बैंकिङ्ग क्षेत्रबाटै बाहिरिए । हाल पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंकको सीईओ भएर काम गरिरहेका पोखरेलले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन् ।
२० वर्ष तत्कालिन ग्रिण्डलेज (स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरेका उनले एनआईसी एसिया बैंकमा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि काम गरेको अनुभव उनीसँग छ । पोखरेलसँग ३० वर्ष बढीको बैंकिङ्ग अनुभव छ ।
म्यानमारको युनाइटेड अमरा बैंक र एजीडी बैंकमा काम गरेका उनलाई धेरैले विदेशी बैंकिङ्ग सम्बन्धि राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा चिन्छन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि उनलाई हिमालयन बैंकमा डीसीईओ बनाउने सम्झौता भएपनि उनले डीसीईओ बन्न अस्वीकार गरे ।
पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्री पूराना बैंकर बाहिरिनु र नयाँ प्रवेश गर्नु ‘बगेको खोलाको संज्ञा’ दिन्छन् । उनले नयाँ पुस्ता बैंकिङको नेतृत्व लिएर पुराना बैंकर बाहिरिनु स्वभाविक भएको तर्क दिन्छन् ।
‘यसलाई म एउटा चक्रका रुपमा लिन्छु, कुनै पनि क्षेत्र ‘पानीको पोखरी भन्दा पनि बगेको खोला’ जस्तै हुनु पर्छ, अनुभवी व्यक्तिको अनुपस्थितिले केही प्रभाव पारे पनि ठूलो असर गर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।
पूर्व बैंकर अनलराज भट्टराई पनि यसलाई सकारात्मक रुपमा लिन्छन् । बैंकिङमा सीईओसँगै तल्लो तहका कर्मचारीहरु पनि अनुभवी हुने भएकोले त्यसले कुनै नकारात्मक प्रभाव नपर्ने उनको भनाइ छ ।
‘बैंकिङ क्षेत्रमा सेकेण्ड म्यान पनि हुन्छ, बैंकको संरचना बलियो हुन्छ, तल्लो तहमा पनि अनुभवी बैैंकरण् हुन्छन्, सधैं सोही सीईओ बस्नु पर्छ भन्ने हुँदैन, पुराना बाहिरिँदा नयाँले अवसर पाउँछन्,’ उनले भने ।
कुनैबेला बैंकको संख्या बढी हुँदा धेरै अनुभव नभएकोले पनि छिट्टै बढुवा पाएको तर अहिले त्यस्तो अवस्था नभएको उनको भनाइ छ । ‘कुनै बेला छोटो समयमै उच्च तहमा पुग्ने अवस्था थियो, अहिले त्यस्तो अवस्था नभएकोले दोस्रो तेस्रो तहका कर्मचारी पनि अनुभवी नै हुन्छन्,’ उनले थपे, पुराना बैंकर बाहिरिए पनि उहाँहरुले बाहिरबाट सहयोग गरिरहेका हुन्छन्, उहाँहरुको अनुभव अन्य क्षेत्रमा पनि प्रयोग हुन्छ, जसको सकारात्मक प्रभाव देशको अर्थतन्त्रमै पुर्याउँछ ।’