
काठमाडौं । हिमालयन बैंकले न्यूरोडको खिचापोखरीस्थित नयाँ भवन निर्माणको लागि शिलान्यास गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोड स्थित बंैककै जग्गामा गत असोज १२ गते भवन निर्माणको लागि शिलान्यास गरेको हो ।
बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका थिए । उक्त विशेष समारोहमा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो ।
उक्त समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले बैंकले देशका विभिन्न प्रमुख शहरहरु जस्तै इटहरी, विरगंज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको बताउँदै काठमाडौको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराए । त्यस्तै, बैंकले भरतपुर र नेपालगंजमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको बताए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरुलाई विशेष तथा परिष्कृत बैंकिङ्ग सेवा-सुबिधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैंकका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने उनको विश्वास छ ।
हाल बैंकले देशभरि रहेका १७६ शाखा, २६८ एटीएम, २० विस्तारित काउन्टर तथा १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।