काठमाडौं । सानिमा माइ हाइड्रोपावरले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक २३ गतेका दिन १२ औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सभाले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको सेयर अधिकतम १ अर्ब ५० करोड रुपैयाँसम्म लगानी गर्ने, लगानीका लागि प्रवद्र्धक कम्पनी र सम्बन्धित पक्षसँग सम्झौता गर्ने प्रस्तव पारित गर्नेछ ।
यस्तै, जुम खोला जलविद्युत आयोजनाको बैंक कर्जा प्रयोजनका लागि प्रचलित कानुनले तोकेको सीमा भित्र रही संस्थागत जमानत दिने प्रस्ताव सभाले पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।