धमाधम जागिर छोडेर विदेश जाँदै प्रहरी पनि, ५ वर्षमा ७ हजारले छाडे काम

  २०८० असोज १४ गते १३:१८     नारायण अर्याल

काठमाडौं । पछिल्लो समय विभिन्न पेशा व्यवसाय छोडेर विदेश जाने अभ्यास बढिरहेको बेला त्यो अभ्यास नेपाल प्रहरीमा पनि देखिएको छ ।नेपाल प्रहरीमा जागिर खान भर्ती भएर अवधि पूरा नगरी वार्षिक रुपमा सयौं प्रहरीले जागिर छाड्ने गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार  पछिल्लो पाँच वर्षमा ६ हजार ९ सय ८३ जना प्रहरीले सेवा अवधिको बीचमा नै राजीनामा दिएर जागिर छाडेका छन् । यसरी जागिर छाड्नेहरुमा कतिपयको पेन्सन अवधि पुगेको छ भने कतिपयले पेन्सन अवधि पुगेको छैन ।

नेपाल प्रहरीले केन्द्रीय कार्यालयले विकासन्युजलाई उपलब्ध गराएको सूचना अनुसार आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ मा मात्रै ५ हजार एक सय ५० जना प्रहरीले जागिर छाडेका छन् । सो अवधिमा एकजना प्रहरी नायव महानिरिक्षक, ४ जना प्रहरी उपरिक्षक, ९ जना प्रहरी नायब उपरिक्षक र २६ जना प्रहरी निरिक्षकले जागिर छाडेका छन् ।

सो अवधिमा प्रहरी नायब निरिक्षक २ सय २८ जना, प्रहरी सहायक निरिक्षक ६ सय ८० जना र सबैभन्दा धेरै प्रहरी हवल्दार ३ हजार ४ सय ९ जनाले जागिर छाडेकाे तथ्रयांकमा उल्लेख छ । ६ सय ६३ जना प्रहरी जवानले सो अवधिमा प्रहरीको जागिर छाडेको विकासन्युजलाई प्राप्त सूचनामा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ को तुलनामा त्यसपछिका आर्थिक वर्षमा भने प्रहरीले जागिर छाड्ने क्रममा केही कमि आएको देखिन्छ । आर्थिक वर्ष ०७७/७८ मा सबै पदमा कार्यरत ७ सय तीन जना, ०७८/७९ मा ४ सय ९८ जना र आर्थिक वर्ष ०७९/८० मा ६ सय ३२ जनाले जागिर छाडेको सूचनामा उल्लेख छ ।

जागरि छोड्नेमा हवल्दार बढी

प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार नेपाल प्रहरीमा सेवा प्रवेश गरेर बीच अवधिमा सबैभन्दा धेरै जागिर हवल्दारहरुले छाड्ने गरेको देखिन्छ । पछिल्लो पाँच वर्षमा ६ हजार ९ सय ८३ जनाले जागिर छाड्दा प्रहरी हवल्दार मात्रै ३ हजार ९ सय ८६ जनाले जागिर छाडेका छन् । त्यसपछि धेरै जागिर छाड्नेमा प्रहरी सहायक निरिक्षक १ हजार ९९ र प्रहरी जवान ९ सय ८० जना रहेका छन् । झण्डै बाँकी १४ वर्ष सेवा अवधि कायम नै रहँदा ती प्रहरी हवल्दारहरुले जागिर छाडेका हुन् ।

तथ्यांक स्रोत : नेपाल प्रहरी केन्द्रीय कार्यालय

किन छाड्छन् प्रहरीले जागिर ?

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीहरुले थप राम्रो अवसर र वैदेशिक रोजगारीमा जानका लागि जागिर छाड्ने गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले प्रहरीको जागिरमा भन्दा राम्रो अवसर देखेर सेवा अवधि नपुग्दै जागिर छाड्ने गरेको बताउँछन् । उनले  वैदेशिक रोजगारी र घरायसी कारण देखाउँदै प्रहरीले जागिर छाड्ने गरेको प्रतिक्रिया दिए ।

‘सबैभन्दा बढी जागिर छाड्नेहरु वैदेशिक रोजगारमा जान्छन्, थप अवसरकाे कारणले पनि काम छाड्छन्, पारिवारिक कारण पनि देखाउँछन्’, उनले भने, ‘पहिले पेन्सन १६ वर्षको थियो, पछि परिवर्तन भएर २० वर्ष भयो, १६ वर्षमा नै पेन्सन पाकेकाहरु किन अब २० वर्ष कुर्नु भनेर राजीनामा दिएका हुन् ।’

प्रवक्ता कडायतका अनुसार हवल्दार भन्दा तलको पदीय जिम्मेवारीमा रहेकाले भने सेवा अवधि नपुगिकन पेन्सन नपाउने हुँदा राम्रो अवसर पाएको हुँदा त्यसै छाडेको बताए । निजामती कर्मचारी, शिक्षक लगायतका पेसामा आबद्ध हुनेहरुको उमेर हदको अन्तिम सम्म जागिरमा नै मोह हुने गरेकोमा प्रहरीमा भने बीचमा नै जागिर छाड्नेहरुको संख्या ठूलो देखिएको छ । जुन श्रम र समय अनुसारको सेवा सुविधा नभएको कारणले हुने गरेको धेरैको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.