सेयरभन्दा घरजग्गा किन्न सस्तो

<p>काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थासँगै उद्योगी व्यवसायीले पनि लगानी गर्न रुचाउने क्षेत्र हुन् घरजग्गा र सेयर बजार । पछिल्लो केही वर्षयता यी दुवै क्षेत्रमा ठूलो समस्या सिर्जना भएपछि अर्थतन्त्रमै त्यसको प्रभाव पर्यो । अर्थतन्त्र सुस्त बन्यो । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न सकेनन् भने उद्योगी व्यवसायीले पनि बैंक तथा वित्तीय संस्थाबाट [&hellip;]</p>

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थासँगै उद्योगी व्यवसायीले पनि लगानी गर्न रुचाउने क्षेत्र हुन् घरजग्गा र सेयर बजार । पछिल्लो केही वर्षयता यी दुवै क्षेत्रमा ठूलो समस्या सिर्जना भएपछि अर्थतन्त्रमै त्यसको प्रभाव पर्यो । अर्थतन्त्र सुस्त बन्यो । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न सकेनन् भने उद्योगी व्यवसायीले पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नयाँ व्यवसाय तथा भएका व्यवसाय पनि विस्तार गर्न चाहेनन् ।

तर, पछिल्लो केही महिना यता भने बैंकहरुमार्फत् ऋण लिएर व्यवसाय गर्ने अवस्थामा व्यवसायी देखिएका छन् । विशेष गरेर गत असारसम्म घरजग्गा र सेयर बजारमा कमै मात्र कर्जा लगानी गरेका बैंकहरुले साउन महिना लागेसँगै कर्जाको भोलुम बढाएर कम ब्याजमै ऋण लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुले सेयरधितो कर्जाको तुलनामा घरजग्गा क्षेत्रमा सस्तो ब्याजमा कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको साउनको तथ्यांक अनुसार बैंकहरुले घरजग्गामा औसत १२.४७ प्रतिशत ब्याजमा लगानी गरेका छन् भने सेयरधितो कर्जामा १२.९७ प्रतिशत ब्याजमा लगानी गरेका छन् ।

कुनै लगानीकर्ताले सेयरधितो राखेर १ करोड रुपैयाँ कर्जा लिन चाहन्छ भने उसले १ करोड कर्जाको वार्षिक १२ लाख ९७ हजार रुपैयाँ ब्याज रकम नै तिर्नु पर्ने हुन्छ । तर, लगानीकर्ताले सेयर नकिनेर १ करोडको कर्जा लिएर घरजग्गामा लगानी गर्छ भने उसलाई बैंकहरुले १२.४७ प्रतिशत मात्रै ब्याज लिएको देखिन्छ । त्यो भनेको १ करोड रुपैयाँ कर्जाको वार्षिक १२ लाख ४७ हजार रुपैयाँ हुन जान्छ । यहाँ व्यवसायीलाई सेयरभन्दा घरजग्गा क्षेत्रमा लगानी गर्नका लागि ५० हजार रुपैयाँ सस्तो पर्न जान्छ ।

गत आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुले १२.८९ प्रतिशत ब्याजमा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेका थिए । गत बैशाखसम्म औसत १४ प्रतिशतको हाराहारीमा रहेको सेयर धितो कर्जाको ब्याज जेठ र असारमा १३ प्रतिशतको हाराहारीमा कायम भएको थियो । तर, साउनमा ब्याज घटेर १२ प्रतिशतको हाराहारीमा झरेको हो ।

बैंकरहरुका अनुसार पछिल्लो समय ठूलो रकमको सेयर धितो कर्जाको माग बढ्न थालेको छ । राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेपछि सेयरधितो कर्जाको माग बढेको एक बैंकरले बताए ।

यस्तै, विगत एक वर्षको तथ्यांक हेर्दा सेयर कर्जाभन्दा घरजग्गा कर्जाको ब्याज सस्तो नै देखिन्छ । गत आर्थिक वर्षको साउनमा घरजग्गा कर्जामा बैंकहरुले औसत १२.४१ प्रतिशत ब्याजमा कर्जा लगानी गरेका थिए । गत वर्षको भदौमा औसत ११.८५ प्रतिशत, असोजमा १२.५ प्रतिशत ब्याजमा बैंकहरुले घरजग्गा कर्जा लगानी गरेको देखिन्छ । बैसाखयता घरजग्गा कर्जाको ब्याज निरन्तर घट्दै गइरहेको छ ।

ब्याज घटाएसँगै कर्जा रकम पनि बढ्न थाले राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । साउनमा बैंकहरुले २ खर्ब ८ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको देखिन्छ भने असारमा २ खर्ब २ अर्ब, जेठमा २ खर्ब १४ अर्ब, बैशाखमा २ खर्ब ११ अर्ब रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा लगानी गरेको देखिन्छ ।

कतिपयले भने घरजग्गा र सेयर बजारलाई बन्देज गर्ने किसिमका नीति बनाउन नहुने बताउँछन् । केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा सेयर लगानीकर्ता अम्बिका पौडेलले सेयर बजार र घरजग्गा क्षेत्रलाई बन्देजको नीति अघि सार्दा समस्या भएको धारणा राखेका थिए ।

‘सरकार तथा नेपाल राष्ट्र बैंकले नीति निमार्ण गर्दा आफ्नो परिवेशको कमजोर मूल्याड्ढन र वाह्य परिवेशको अधिक मूल्याड्ढन पनि अहिलेको समस्याको कारण हो, हाम्रो अर्थतन्त्रको स्रोत रेमिटेन्स र रेमिटेन्सको लगानी घरजग्गा तथा सेयर अनि पछिल्लो समयमा सबैभन्दा प्रहार पनि त्यही क्षेत्रमा भइरहेको छ, घरजग्गा र सेयर कर्जामा पनि सधँै उदार हुनुपर्दछ भन्ने होइन तर अर्को क्षेत्रले प्रतिस्थापन गर्ने वातावरण नहुँदासम्म पूर्ण बन्देजको नीति पनि अर्थतन्त्र संकुचनको कारण हो,’ पौडेलले भनेका थिए ।

Share News