व्यवसायिक सफलतासँगै नेपाली समाज र एनआरएनए रूपान्तरणको दौडमा रोविन शेरचन

<p>काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को एघारौं महाधिवेशनको आउँदो अक्टोबरमा काठमाडौंमा हुने भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र आकाँक्षीहरुले उम्मेदवारीको घोषणा गर्ने क्रम बढ्दै गएको छ। आइसीसी नेटवर्कमा पुग्न र एनआरएनए अभियान नेतृत्वका लागि अहिले बिश्वभरि छरिएर रहेका नेपालीहरुले आ-आफ्ना एजेन्डाहरु सार्वजनिक गर्दै विभिन्न पदका लागि उम्मेदवारीको घोषणा [&hellip;]</p>

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को एघारौं महाधिवेशनको आउँदो अक्टोबरमा काठमाडौंमा हुने भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र आकाँक्षीहरुले उम्मेदवारीको घोषणा गर्ने क्रम बढ्दै गएको छ। आइसीसी नेटवर्कमा पुग्न र एनआरएनए अभियान नेतृत्वका लागि अहिले बिश्वभरि छरिएर रहेका नेपालीहरुले आ-आफ्ना एजेन्डाहरु सार्वजनिक गर्दै विभिन्न पदका लागि उम्मेदवारीको घोषणा गरिरहेका छन् ।

उम्मेदवारी घोषणाको लहरमा उभिएका मध्ये एकजना बलिया उम्मेदवार रोबिनप्रसाद शेरचन पनि एक हुन् । उनले आइसीसीको आगामी २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेकाछन् । हालको कार्यसमितिमा उनि एनआरएनए आईसीसी सदस्यको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् ।

लामो समयदेखि जापानमा बसेर व्यवसाय गर्दै आएका शेरचन सामाजिक र परोपकारको क्षेत्रमा समेत क्रियाशील रहेका छन् । उनी विश्वभरी रहेका नेपालीमाझ परिचित एवं एक बलियो उम्मेदवारका रुपमा समेत मानिन्छन् ।

उनी भन्छन, ‘एनआरएनए स्थापना भएको करिब २० वर्ष भयो, मैले करिब ३५ वर्ष जापानमा बिताएको छु, एनआरएनए स्थापना हुनुपूर्व पनि विभिन्न सामाजिक कामहरु गर्दै आएको थिएँ, ती सबै संस्थागत थिएनन् तरपनि एक किसिमको आत्मसन्तुष्टि प्राप्त भइरहेको थियो ।’ परदेशमा बसेर नेपाली समुदायका लागि अन्तर्राष्ट्रियस्तरमा निस्वार्थ सेवा गर्ने उद्देश्यले एनआरएनए रोजेको उनले बताए ।

उनी भन्छन्, ‘यो विश्वभर फैलिएको नेपालीहरूको गैरराजनीतिक संस्था हो । यहाँ जोडिएर संस्थागत रुपमा नेपाल र नेपालीका लागि निस्वार्थ रुपमा व्यापक काम गर्न सकिन्छ । त्यसैले विश्वभर रहेका मेरा शुभचिन्तक तथा साथीभाईहरुको समेत सल्लाहका कारण मैले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’

एनआरएनए एक विशुद्ध गैरराजनीतिक संस्था भएपनि यसभित्र राजनीतिक हस्तक्षेप र नेतृत्वमा देखिएको विवादका कारण संघको १०औं महाधिवेशन हुनसकेको थिएन । त्यसबेला तीन जना अध्यक्षका दाबेदार थिए । कोरोना महामारीको अवस्था एवं नेतृत्वमा उत्पन्न विवादका कारण पालैपालो गरेर तीनै जना अध्यक्ष रहने सहमति गरिएको थियो । तर, यसपटक ११औं महाधिवेशन आगामी अक्टोवर १७ देखी १९ सम्म काठमाडौंमा हुने निर्णय संघले गरेको छ ।

उपाध्यक्षका प्रत्यासी शेरचनका विचारमा विश्वभरी रहेका नेपालीहरुको छाता संगठन मानिएको एनआरएनए आफ्नो उद्देश्य अनुरूप सामजिक परोपकारी संस्थाको रुपमा अगाडि बढ्नु पर्ने हो तर त्यसो हुन सकेको छैन । विदेशमा रहेका नेपालीहरु मध्ये बौद्धिक, दक्षता भएका, युवालगायत ठूलो संख्या संघको घेराभित्र अटाउन सकेका छैनन् ।

शेरचन भन्छन्, ‘तिनीहरूलाई सङ्घको घेराभित्र ल्याउनु पर्नेछ, सबैले अपनत्व महसुस गर्नेगरी काम गर्नु पर्नेछ, राजनीतिक हस्तक्षेपको सामना गर्नुका साथै फेरि एकपटक संस्थाको गरिमा उच्च बनाउनको लागि निस्वार्थ सेवा भावकासाथ कार्य गर्ने नेतृत्व चयन गर्नका लागि अपिल गर्न चाहन्छु ।’

शेरचनको पृष्ठभूमी

मुस्ताङमा जन्मेपनि शेरचनने आफ्नो बाल्यकाल भने पोखरामा बिताएका थिए । गण्डकी बोर्डिङ स्कुल अध्ययन पछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका उनलाई आफन्तले बोलाएपछि सन् १९८८ अर्थात् आजभन्दा ३५ वर्षअघि जापान गएका थिए ।

उनी जापान पुग्दा जापान अहिलेको जस्तो अवस्थामा थिएन, हिरोसिमा र नागासाकीमा अमेरिकाले खसालेको परमाणु बमको घाउ ताजै थियो । परमाणु बमका कारण ठूलो क्षति ब्यहोरेको जापानले भर्खर-भर्खर विकासको गतिमा रफ्तार अगाडि बढाएको थियो । जापानमा हाल करिब १ लाख ५० हजार नेपाली छन् तर, त्यस बखत त्यति धेरै नेपाली थिएनन् । करिब सय जना जति मात्रै नेपाली भएको हुनसक्ने शेरचन बताउँछन् । त्यो समयमा जापानमा जीवन बिताउने विषय सोचे जस्तो थिएन । भाषा फरक खानपान, चालचलन जीबनशैली सबै फरक थिए ।

सुरुमा काम गर्न निकै गाह्रो थियो । भाषा र शिप दुवै नभएकोले कठिन थियो । जापानीहरु जापानी भाषा नै बोल्ने गर्दछन् अंग्रेजी बोल्नेहरु बिरलै भेटिन्छन् । त्यसैले उनले सुरुमा भाषा पढ्न थाले दुई वर्ष भाषा पढिसकेपछि मात्र त्यहाँ उनलाई घुलमिल हुन सजिलो भयो, भाषा भएपछि काम पाउन सजिलो भयो । त्यसपछि केही समय रेस्टुरेन्टमा काम गरे ।

त्यसबेला जापानमा भएका मध्ये धेरै जसो थकाली समुदायका थिए । मुस्ताङका थकालीहरु सीमापार व्यापार गर्ने गदर्थे । शेरचनको पुर्ख्यौली पेशा पनि व्यापार नै थियो । उनका बुबाले होटल व्यवसाय साथै हङकङबाट कपडाहरु ल्याएर बेच्ने व्यवसाय पनि गर्थे । भैरहवामा रहेका होटल तथा पसलहरु राम्रै चलेका थिए ।

बुवाले गरेको व्यवसायलाई निरन्तरता दिँदा भविष्य छैन भन्ने लागेर उनले आफैं केही गर्ने सोंच बनाएर जापान प्रवेश गरेको बताउँछन् । रेस्टुरेन्टमा काम गर्ने सिलसिलामा उनले एक जापानी युवतीसँग २७ वर्षको उमेरमा प्रेम विवाह गरेका थिए। शेरचनको विवाहसँगै नयाँ जीवनको शुरुवात भएको अनुभव सुनाउँछन् ।

जापानी नागरिक भएपनि उनकी श्रीमतीले विदेशमा उच्च शिक्षा हासिल गरेकी थिइन्, जसले गर्दा उनको अंग्रेजी भाषामा राम्रो ज्ञान थियो । शेरचनको श्रीमतीलाई आफ्नो देशको संस्कृति अरुलाई बुझाउने विषयमा रुची थियो, सो रुची दुवैको साझा जस्तो बन्यो । यसैक्रममा उनीहरुले एउटा साँस्कृतिक विद्यालय खोल्न पुगे । उनीहरुले सो विद्यालयमा अंग्रेजी लगायतका विभिन्न भाषाको कक्षा शुरुवात गर्न थाले ।

त्यसबेला पत्रपत्रिकाको उति चलन थिएन पत्रपत्रिकाहरु व्यापक थिएनन् । ‘माउथ टु माउथ’ प्रचार गर्दै हुने गर्दथ्यो । एकदिन उनीहरुको स्कुलको बारेमा एउटा स्थानीय पत्रिकामा समाचार प्रकाशन भएपछि स्कुल सोचेभन्दा राम्रो चल्न थालेको शेरचन सुनाउँछन् ।

तर, सुख र खुसीहरुको सुरुवात हुँदै गरेको शेरचनको जीवनमा अचानक ठूलो बज्रपात आइपर्यो । उनकी ३९ वर्षीय श्रीमतीलाई क्यान्सरले लग्यो । शेरचन एक्लै भए । दुईजनाको मन मिलेर खोलेको स्कुल एक्लै सम्हाल्नुपर्ने अवस्था आयो । श्रीमतीको यादसँगै केहीवर्ष उक्त स्कुल चलाए । पछि आफ्ना भाईहरुसँग मिलेर एउटा बार खोले करिब १३० देशका विभिन्न ब्रान्डका बियरहरु र खानेकुराहरु बिक्री गरिने उक्त बार पनि सोचेभन्दा राम्रो चल्न थाल्यो । फेरि उनले इटालियन रेष्टुरेन्ट खोले त्यो पनि राम्रो चल्यो ।

आफ्नी श्रीमतीको याद बोकेर उनी एकपछि अर्को व्यवसायको उकालो यात्रा गर्दै गए असफलता भने कतै भोग्नपरेन जुन काममा हात हाल्यो त्यो फलिफाप हुँदै गयो । मानौं कुनै चमत्कार हुँदैछ जस्तो । अहिले उनले आफ्नो रेस्टुरेण्ट व्यवसायलाई जापानभर फैलाएका छन् उनले जापानभर २५ आउटलेटहरु सञ्चालन गरिरहेका छन् ।

व्यवसाय सफल रहेपनि लामो समय सम्म परदेशमा रहँदा नेपाल र नेपालीको निकटमा रहेर काम गरिरहेको अनुभव सुनाउदै रोबिन शेरचनले बिदेशमा हासील गरेको दक्षता, सीप र रकमलाई व्यवस्थित गरी नेपालमा लगानी गर्ने वातावरण सृजना गर्न एनआरएनए एउटा बलियो माध्यम भएको बताउँछन् । इमान्दारीता र पारदर्शी तरिकाले कार्य गर्ने नेतृत्व चयन गर्न सकेमात्र संस्थालाई रुपान्तरण गर्दै पद्दती अनुरुप प्रभावकारी कार्य सकिने उनको विश्वास रहेको छ ।

शेरचनको महाधिवेशन लक्षित पर्चा

Share News