बागमती प्रदेशका ३ पालिकामा बीमा प्राधिकरण, बीमा सम्बन्धी कार्य गर्न एउटा कोठा उपलब्ध गराउने

  २०८० असोज १२ गते १८:१६     विकासन्युज

काठमाडौं । महांकाल गाउँंपालिकाका अध्यक्ष गणेश बहादुर के.सी.ले गाउँपालिकाको भवन तयार भएपछि एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने बताएका छन् । असोज ११ गते भएको बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रममा बोल्दै उनले एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका हुन् ।

महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले न्यून आय भएका वर्गसहितका सबै नागरिकसम्म बीमाको पहुँच पुर्याउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने बताइन् ।

यस्तै, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कृषि तथा पशुपन्छी बीमालाई अझै स्पष्ट पार्न र गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र राख्न आग्रह गरे ।

कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले बीमाको पहुँच वृद्धिका लागि आगामी बजेटमा बीमालाई समावेश गर्ने र सम्बद्ध सबैसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले स्वास्थ्य बीमा र कृषि तथा पशुपन्छी बीमामा समस्याहरू रहेको औंल्याए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले घटना कतिबेला हुन्छ थाहा नहुने भएकाले गाउँपालिकाका सेवासँग बीमालाई आवद्ध गरेर अनिवार्य गर्न सम्बन्धित गाउँपालिकासँग आग्रह गरे । निर्देशक लालले आर्थिकरूपमा सक्नेलाई बीमा गर्न प्रोत्साहन गर्न तथा विपन्न बर्गको बीमा गाउँपालिकाबाट नै गरिदिने व्यवस्था गर्न सुझाव दिए ।

उपनिर्देशक निर्मल अधिकारीले बीमाको परिचय, महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको विकास एवम् पहुँच विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा ललितपुरका कोन्ज्योसोम गाउँपालिका, महांकाल गाउँपालिका र बागमती गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमा प्राविधिकरूपमा जटिल रहेको, बीमा कम्पनीहरूले कृषि बीमा गर्न नमानेको, बीमांकमा एकरूपता नभएको, दाबी भुक्तानी झन्झटिलो रहेको, बीमा कहाँ कसरी गर्ने भन्ने थाहा नभएको लगायतका गुनासाहरू राखेका थिए ।

यसैगरी, सहभागीहरूले बीमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन, स्थानीय तहसँग समन्वय गरेर गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र स्थापना गर्न, बाली बीमालाई अझै स्पष्ट पार्न, विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन, भैंसी र बाख्राको मूल्य निर्धारणमा देखिएको समस्या समाधान गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.