काठमाडौं । चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गर्ने भएको हो ।
कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई बिक्री गरेको थियो ।
साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८० हजार कित्ता विदेशमा रोजगारी गरिरहेका नेपाली, २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ ।
अब दोस्रो चरणमा स्थानीयले आवेदन नदिएको १ लाख ९५ हजार ३ सय कित्तासहित ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओमा छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।