२०८० असोज १२ गते १०:१५ विकासन्युज
काठमाडौं । लामो समयदेखि सेयर कर्जा प्रवाह गर्न नसकिरहेका बैंकहरुले साउनमा सेयर कर्जाको परिमाण बढाएका छन् । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाइ गरेपछि केही हच्किएका बैंकहरुले पछिल्लो केही महिना यता भने सेयर धितो राखेर लगानीकर्तालाई सजिलै कर्जा प्रवाह गरिरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाले विगतका महिनाहरुको तुलनामा सेयरधितो कर्जाको ब्याज पनि घटाएर ऋण प्रवाह गरिरहेका छन् । चालु आर्थिक वर्षको साउनमा बैंकहरुले लगानीकर्तालाई ५८ अर्ब ९० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको कात्तिक महिनाको हारहारीमा हो ।
गत असारको तुलनामा बैंकहरुको सेयरधितो कर्जा ४ अर्बले बढेको छ । असारमा वाणिज्य बैंकहरुले ५४ अर्ब ६९ करोड ८० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका थिए भने भदौमा ५७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । अहिलेको कर्जा लगानी पछिल्लो १० महिनाकै उच्च हो ।
बैंकहरुको कर्जा लगानी बढेसँगै ब्याजदर पनि घटेको छ । चालु आर्थिक वर्षको साउनमा बैंकहरुले औसत १२.९७ प्रतिशत ब्याजमा सेयर कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको साउनको हाराहारीमा नै हो । गत आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुले १२.८९ प्रतिशत ब्याजमा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेका थिए ।
गत बैशाखसम्म औसत १४ प्रतिशतको हाराहारीमा रहेको सेयर धितो कर्जाको ब्याज जेठ र असारमा १३ प्रतिशतको हाराहारीमा कायम भएको थियो । तर, साउनमा ब्याज घटेर १२ प्रतिशतमा झरेको हो ।
बैंकरका अनुसार पछिल्लो समय ठूलो रकमको सेयर धितो कर्जाको माग बढ्न थालेको छ । राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेपछि सेयरधितो कर्जाको माग बढेको एक बैंकरले बताए ।
बैंकहरुले सेयरधितो कर्जाको ब्याज घटाएसँगै लगानीकर्ताको लागत पनि घटेको छ । गत बैशाखमा १४.४५ प्रतिशत ब्याज तिरेका लगानीकर्ताले साउनमा १२.९७ प्रतिशत ब्याज तिर्दा लागत १०.२४ प्रतिशतले घटेको हो ।
बैंकहरुले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्दछन् । जसको आधार दर र प्रिमियम दर कम छ सो बैंकको कर्जाको ब्याज पनि सस्तो पर्छ । बैंकहरुको तथ्याङ्क अनुसार सेयर कर्जामा सबैभन्दा सस्तो ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको छ । राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ११.२७ प्रतिशतमा सेयर कर्जा दिने गरेको छ ।
आधा दर्जन बैंकको भन्दा नबिलको कर्जा बढी
सेयर कर्जा लगानीमा नबिल बैंक आक्रामक देखिएको छ । साउनमा नबिल बैंकले ९ अर्ब ६८ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको छ । जुन बैंकिङ क्षेत्रको कुल सेयरधितो कर्जाको १६.४३ प्रतिशत हो । नबिलले आधा दर्जन बैंकले लगानी गरेको भन्दा बढी कर्जा एक्लैले प्रवाह गरेको छ ।
यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले कर्जा प्रवाह गरेको छ । सो बैंकले ६ अर्ब २८ करोड ९० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको हो । नेपाल बैंक बढी सेयरधितो कर्जा लगानी गर्नेको तेस्रो नम्बरमा छ भने राष्ट्रिय वाणिज्य बैंक चौथो नम्बरमा छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.